• १३ साउन २०८१, आइतबार

नवदुर्गा गाउँपालिकाको भवन तीन वर्षदेखि अलपत्र, ठेकेदार सम्पर्कविहीन

blog

दुई वर्ष देखि अलपत्र रहेको नवदुर्गा गाउँपालिकाको प्रशासनिक भवन । । तस्बिर: पुष्कर भण्डारी

पुष्कर भण्डारी 

डडेलधुरा, जेठ ६ गते । नवदुर्गा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम तीन वर्षदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०७८÷२०७९ को असारमा सम्पन्न गर्ने गरी ६ करोड कुल लागतमा ठेक्का भएको भवन निर्माणको काम अलपत्र परेको हो । ठेकेदारको लापरबाहीका कारण भवन निर्माणको काम सम्पन्न नभएको नवदुर्गा गाउँपालिकाका सूचना अधिकारी करुणाकर भट्टले बताउनुभयो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागतमा प्रशासनिक भवन निर्माणका लागि आर्थिक वर्ष २०७६÷२०७७ मा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनी स्वर्गद्वारी ड्रागन जेभी कन्ट्रक्सनसंग चार करोड ७४ लाख रुपियाँ बराबरमा भवन निर्माणको ठेक्का भएको उहाँले जानकारी दिनुभयो । 

निर्माण व्यवसायीले अलि अलि काम गर्दै भुक्तानी लिँदै जाने गरेका कारण भवन निर्माणको काम अहिले सम्म अधुरै रहेको उहाँले बताउनुभयो । पटक पटक म्याद थप गरेर सम्पन्न गरिसक्नुपर्ने तोकिएको समयभन्दा पनि दुई वर्ष पुगेको उहाँले बताउनुभयो । भवन निर्माणको करिब ८० प्रतिशत काम सकिए पनि २० प्रतिशत बाँकी रहेको हुनसक्ने उहाँले बताउनुभयो । 

चार तला  र ३० कोठा रहने भवनमा झ्याल, ढोका, शौचालय, विद्युत् जडानका काम बाँकी छन् । उहाँले भन्नुभयो, ठेकेदारलाई घचघच्याउँदा थोरै कामदार ल्याएर केही काम गर्नुहुन्छ । भएको कामको भुक्तानी माग्नुहुन्छ फेरि हराउनुहुन्छ । निमार्ण कामको अझै म्याद थप गर्नुपर्ने देखिएको छ । अबको कार्यपालिका बैठकले म्याद थप गर्छ वा कारबाही गर्छ । त्यस पछि मात्रै थाहा हुने उहाँको भनाइ छ । 

नवदुर्गा गाउँपालिकाले प्रशासनिक काम हाल अस्थायी घरबाट गर्दै आइरहेको छ । वडा नं. २ को बकालमा आफ्नै जमिनमा अस्थायी भवन बनाई पालिकाले सेवा प्रवाह गर्दै आइरहेको छ । आफ्नै नाममा जग्गा प्राप्त गरेपछि गाउँपालिका प्रशासनिक भवन निर्माणका लागि टेन्डर गरिएको थियो । पाँच कोठामा अस्थायी रूपमा कार्यालय राखेर प्रशासनिक काम गर्दा कठिनाइ हुने गरेको उहाँले बताउनुभयो । सेवाग्राहीको भिड लाग्दा बाहिर घाम, पानीमा कुराउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।