• ६ जेठ २०८१, आइतबार

पत्रकार तथा कर्मचारी पुरस्कृत हुँदै

blog

काठमाडौँ, वैशाख २४ गते। गोरखापत्र प्रकाशनको १२४ औँ वर्ष प्रवेश तथा संस्थानको ६२ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कर्मचारी तथा पत्रकार सम्मानित हुने भएका छन् । सोमबार औपचारिक कार्यक्रममा वितरण गरिने उत्कृष्ट कर्मचारी सम्मान सहसम्पादक राजेश चाम्लिङ राईलाई प्रदान गरिने भएको छ । प्राविधिकतर्फ उत्कृष्ट कर्मचारी सम्मान प्रबन्धक जुजुकाजी रञ्जित, प्रशासनतर्फ वरिष्ठ सहायक सङ्गीता खड्कालाई प्रदान गरिने भएको छ । 

उपत्यका समाचारदाता सरोज ढुङ्गेल (गोरखापत्र), नायक पौडेल (दी राइजिङ नेपाल) र मनोरञ्जन शाही (अनलाइन संस्करण) लाई उत्कृष्ट उपत्यका समाचारदाता पुरस्कार प्रदान गरिने भएको छ । 

गोरखापत्र समाचारदाता कोशी प्रदेशबाट प्रेमप्रसाद अधिकारी, मधेश प्रदेशबाट जिवछ यादव, बागमतीबाट केदारनाथ तिमल्सिना, गण्डकीबाट अर्जुन काफ्ले, लुम्बिनीबाट दिवाकर पोख्रेल, कर्णालीबाट राजु लामिछाने र सुदूरपश्चिमबाट चाँदनी आचार्यलाई उत्कृष्ट समाचारदाताका रूपमा पुरस्कृत गरिने भएको छ । त्यस्तै नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘रामचन्द्र–इन्दु गौतम’ पत्रकारिता पुरस्कार–२०८० पत्रकार निर्मला शर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । 

गोरखापत्र प्रतिष्ठान शाखाले गठन गरेको पुरस्कार छनोट समितिले २०५२ सालदेखि पत्रकारिता गर्दै आउनुभएकी पत्रकार शर्मालाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कारको राशि ५० हजार रुपियाँ छ । पत्रकार शर्मा हाल दक्षिण एसियाली पत्रकार महिला सञ्जाल नेपालका अध्यक्ष हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासङ्घका सल्लाहकार पनि हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाले प्रदान गर्ने गोरखापत्र पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक सरोज अधिकारी र फोटो पत्रकार शेखर चौलागाईंलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको छ । गोरखापत्र क्रियाशील पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्र र गोरखापत्र अनलाइन संस्करणका उपसम्पादक लोकबहादुर चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठान शाखाले प्रदान गर्दै आएको सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका उपसम्पादक अजय शर्मा र दी राइजिङ नेपालमा कार्यरत समाचारदाता इन्दिरा अर्याललाई प्रदान गर्ने निर्णय गरेको छ । उहाँहरू नगद पाँच हजार र सम्मानपत्रसहित पुरस्कृत हुनुहुने छ ।

त्यस्तै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले वरिष्ठ प्राविधिक अधिकृत विमलादेवी घिमिरेलाई जागरुक जनसेवक सम्मान प्रदान गर्ने भएको छ । कार्यालय सहयोगीद्वय सुकराम महर्जन र लता पौडेललाई पनि सो सम्मान प्रदान गरिने भएको छ । गोरखापत्र संस्थान कर्मचारी सङ्घ–४७ ले कार्यालय सहयोगी रामकृष्ण श्रेष्ठ र वितरक राजन केसीलाई गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । त्यस्तै गोरखापत्र संस्थान कर्मचारी सङ्घ–२०५२ ले नगद तथा सामान्य लेखा शाखामा कार्यरत सहायक कम्प्युटर अधिकृत रमा मोक्तान र ग्राहक सेवा शाखामा वितरक पदमा कार्यरत राजेन्द्रप्रसाद चौधरीलाई ‘जयपृथ्वीबहादुर सिंह उत्कृष्ट सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ । उहाँहरूलाई जनही सात हजार ५५२ रुपियाँ नगदसहित सम्मानपत्र प्रदान गरिने जनाइएको छ ।