• २३ वैशाख २०८१, आइतबार

बलान नदीको स्थलगत अवलोकन

blog

बलान नदीको कटान क्षेत्रको स्थलगत निरीक्षण अवलोकन गर्दै जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारहरु । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, वैशाख १३ गते । सप्तरी र सिराहा सिमाना छुट्याउने बलान नदीको बाँध भत्किएको कारण मल्हनियाँ गाउँ उच्च जोखिममा छ । सप्तरीको बलानबिहुल गाउँपालिका वार्ड नं. १ स्थित बलान नदीको करिब आठ सय मिटर बाँध भत्केकोले मल्हनियाँ गाउँ उच्च जोखिममा रहेको हो । 

बाँध भत्केकै कारण मल्हिनियाँ गाउँसँगै त्यस क्षेत्रका खेतीयोग्य जमिन कटान गरी बालुवा पुर्ने सम्भावना पनि उच्च छ । गत वर्षको बाढीमा कटान गरिएको त्यस ठाउँको बाँध सुक्खायाममै मर्मत सम्भार वा पुनर्निर्माण नगरेमा आउँदो वर्षायाममा मल्हनियाँ गाउँवासीलाई बाढीजन्य सङ्कट आउन सकिने सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो । 

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहनुभएको प्रमुख जिल्ला अधिकारी थापाको नेतृत्वमा बिहीबार सुरक्षा निकायका प्रमुख, सिँचाइ कार्यालयका सङ्घ र प्रदेश मातहतका प्रमुखहरू, बलानविहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, वार्ड अध्यक्षलगायत स्थानीयहरूको सहभागिता बलानविहुल अन्तर्गत मनसुनजन्य विपद् जोखिम स्थलहरूको अवलोकन निरीक्षणको क्रममा उक्त जोखिमहरू केलाएका हुन् ।

गत वर्ष बलानविहुल गापा वार्ड नं ४ स्थित बलान नदीको स्पर भत्केर बेल्ही गाउँमा बाढी पसेको थियो । जसले केही घर र धान खेती समेत डुवान भएको थियो । उक्त स्थानमा पुनः कामलाई निरन्तरता दिई पुनः स्पर जोगाउन तदारुकता दिन अनुगमन निरीक्षण टोलीले सुझाएका छन् ।

त्यसैगरी, वार्ड नं १ स्थित बलान नदीमा भत्केको आठ सय मिटर बाँध पुन निर्माण गरी परम्परागत सिँचाइलाई व्यवस्थित गरेर आधुनिक बनाउन सकिए नदीबाट हुने जोखिम कम गर्न सकिने अनुगमन टोलीले ठहर गरेको छ ।