• २२ वैशाख २०८१, शनिबार

मेलाबाटै दुई सय ५० जनालाई जागिर

blog

एक युवालाई नियुक्ति पत्र प्रदान गर्नुहुँदै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरका प्रमुख धनराज आचार्य । तस्बिर: फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख १३ गते । गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा भएको तीन दिने वृत्ति परामर्श तथा रोजगार मेला बुधवार सकिएको छ । बेरोजगार युवा र रोजगारदातालाई जोड्ने उद्देश्यले आयोजित मेलाबाटै दुई सय ४५ जनाले रोजगारी पाएका छन् । 

पोखरा महानगरपालिकाका व्यवसाय प्रवर्द्धन केन्द्रमा १३ जना, गण्डकी बहुप्राविधिक शिक्षालयमा एक सय पाँच जना, प्रधानमन्त्री रोजगार कार्यक्रमका ८० जना र आर्थिक विकास महाशाखामा ४७ जनालाई रोजगारी दिइएको हो । बाल विकास सहजकर्ता प्रविना शाही, प्लम्बर विनय अधिकारी, जेटीजेटिए दीपेन्द्र आचार्य, इलेक्ट्रिसियन कृष्ण थापामगर र तथ्याङ्क सङ्कलक रंगिला बास्तोलालाई बुधवार आयोजित मेला समापन समारोहमा नै नियुक्ति पत्र प्रदान गरिएको छ । 

गण्डकी बहु प्राविधिक शिक्षालयबाट रोजगारी पाएकामध्ये सिभिल इन्जिनियर समीक्षा चापागाईँ र अटोमोबाइलतर्फका दर्शन बराल, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी पाएका ८० जनामध्ये पार्वती नेपाली र आर्थिक विकास महाशाखाबाट रोजगारी पाएका ४७ जनामध्ये कृषि गणक सुन्दर बराल र रेणु रेग्मी तिमिल्सिनाले पनि बुधबारै नियुक्ति पत्र बुझ्नुभयो । 

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले रोजगारी पाएकाहरूलाई नियुक्तिपत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा अनुपस्थित काम पाएका अरूले भने सम्बन्धित कार्यालयबाटै नियुक्तिपत्र पाउने मेलाका प्रचारप्रसार उपसमिति संयोजक अम्बिकाप्रसाद आचार्यले बताउनुभयो । 

मेलामा ४० क्षेत्रमा एक हजार आठ सय १० जनालाई रोजगारी दिन सकिने भन्दै उद्यमी, व्यवसायीले फारम उपलब्ध गराएका थिए । मेलामा निःशुल्क सीप विकास तालिमका लागि एक सय ४६ जना, रोजगारी खोजकर्ता दुई सय २३ जना र सीप परीक्षणका लागि ४५ ले मात्र फारम भरेका छन् । प्रचारप्रसार उपसमिति संयोजक आचार्य भन्नुहुन्छ, “रोजगारदाताभन्दा रोजगारी खोज्नेको सङ्ख्या कम देखियो ।”

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले देश युवाविहीन बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । “देश युवाविहीन बन्दै छ । नेपाल आमा छोराछोरी हो देशमै बस, मलाई खनिखोस्री गर, यही देशलाई सम्पन्न र समृद्ध बनाऊ भनी पुकार गर्दैछिन्,” उहाँ भन्नुहुन्छ । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अवसरको खोजी र बेरोजगारलाई रोजगारी दिलाउने यो मेलालाई निरन्तरता दिइने प्रतिबद्धता गर्नुभयो । मेलामा विभिन्न विषयमा छलफल, नाटक मञ्चनसहित १८ वटा स्टलबाट वृत्ति परामर्श दिइएको पोखरा महानगर व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।