यो पृथ्वी केवल मानिसका लागि मात्र नभएर सम्पूर्ण प्राणीजगत्को साझा घर हो । अस्तित्वमा आएका सबैको उत्तिकै हक अधिकार छ र एकअर्काको जीवन रक्षाका लागि सहअस्तित्व गाँसिएको हुन्छ । जैविक तथा अजैविक तमामको सङ्गम मानिने पर्यावरणको सन्तुलन गुम्न नदिने मुख्य जिम्मेवारी चेतनशील प्राणी भएका कारण मानिसमा रहेको दायित्वबोध हुँदाहुँदै पनि मानिसको स्वार्थी प्रवृत्तिले गर्दा दिनानुदिन प्रदूषण बढ्दो छ । मानिसले तत्कालको लाभलाई मात्र ध्यान दिँदा समान भोगाधिकारका प्राणीजगत्को अस्तित्वमाथि सङ्कट उत्पन्न हुन थालेको छ । विश्वजगत्मा पर्यावरणकर्मीहरूले ‘पृथ्वी सबैको साझा घर’ को अवधारणा अनुरूप मानवीय कर्मका कारण कुनै जीवजन्तु, चराचुरुङ्गीको अस्तित्व सङ्कटमा पर्नु नहुने तर्फ चर्को आवाज उठाउँदै आएका छन् । विकासका नाममा विनाशतिर लाग्नु हुँदैन भन्ने संरक्षणकर्मीको आवाज जायज हुँदाहुँदै पनि मानिसको स्वार्थी प्रवृत्तिका कारण अटेरीपनले जितेको अनुभूत हुन्छ । पर्यावरण सन्तुलनका नाममा विश्वमा ठुलाठुला सम्मेलन हुने गरेका छन् । विभिन्न अभिसन्धि भएका छन् तर व्यवहारमा लागु गर्नेतर्फको प्रतिबद्धतामा भने कमी देखिन्छ ।
नेपालमा पनि वातावरण सन्तुलनका विषयमा अनेक चर्चा परिचर्चा हुने गरेका छन् तर व्यवहारमा भने सहरीकरणका नाममा वनजङ्गल फँडानी, नदीनालामा फोहोर विसर्जन, सहरबस्तीका रुखबिरुवा कटान गर्ने जस्ता क्रियाकलाप दिनानुदिन बढिरहेका छन् । कतिसम्म भने सहर बजारका सडक किनारामा भएका रुखबिरुवामा सौन्दर्यकरणका नाममा अनावश्यक झिलीमिली बत्ती जडान गरेर रातको समयमा बास बस्ने चराचुरुङ्गी तथा किरा फट्याङ्ग्र्रालाई गम्भीर असर पु¥याउने कामसमेत भएको देखिएको छ । यसै सन्दर्भमा वातावरण संरक्षण तथा पशुपन्छी अधिकारकर्मीले यस्ता सार्वजनिक स्थानका रुखबिरुवामा अनावश्यक रूपमा झिलीमिली बत्ती राख्न नहुने भन्दै निकाल्न थालेको समाचार प्रकाशमा आएको छ । खास गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सार्वजनिक रुखबिरुवामा जडान गरिएका बिजुली बत्ती संरक्षण अभियन्ताहरूको अगुवाइमा हटाउन सुरु गरिएको हो ।
झट्ट हेर्दा आकर्षक देखिने त्यस्ता बिजुलीमय रुखमा बास बस्ने चराचुरुङ्गी त्रासपूर्ण वातावरणमा रहने गरेका छन् । गुँड बनाउने र ओथारो बस्ने समयमा अशान्त रहने हुँदा सङ्ख्या वृद्धितर्फ स्वाभाविक रूपमा असर परेको अनुमान जो कोहीले गर्न सकिन्छ । उज्यालोका कारण कुन रात र कुन दिन छुट्याउन नसकिने वातावरणले चराचुरुङ्गी सहरी बासस्थान छोडेर अन्यत्र जाने गरेका तथ्य पनि जगजाहेर छ । भएकाहरू पनि कोलाहल र भिलीमिलीले सधैँ त्रसित रहने गरेकाले अभियानकर्मीको ध्यान यसतर्फ तानिएको हो । उनीहरूले पहिलो चरणमा काठमाडौँको न्युरोडको पिपलबोटमा राखिएका बत्ती हटाएका हुन् । यस्ता बत्तीले चराचुरुङ्गीलाई असर पु¥याउने मात्र नभई रुखको आयुसमेत घटाउने तथ्य अभियानकर्मीले उल्लेख गरेका छन् । रुख साझा सम्पत्ति हुनुका साथै रुखसँग अनेकौँ जीवजन्तु आश्रयमा रहने भएकाले रुखमा त्यस किसिमका कार्य गर्न नहुने उनीहरूको भनाइ मननीय देखिन्छ । मान्छेले तत्कालको रमाइलोका लागि त्यस्ता बत्ती राख्ने गरेका तर दूरगामी असर थाहा पाएपछि हटाउने अभियान थालिएसँगै कतिपय स्थानमा राख्नेहरूले आफैँ हटाउने प्रतिबद्धता जनाएको पनि अभियानकर्मीको भनाइ छ । मानिसले आफ्नो रमाइलोका लागि गरेको कार्यले अन्य जीवजस्तु तथा चराचुरुङ्गीको अस्तित्व सङ्कटमा पर्न नदिनेतर्फ सचेत हुनै पर्छ ।
कुरा सहर बजारका रुखबिरुवाको मात्र होइन, राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रका वरपरका होटल तथा रिसोर्टहरूको पनि हो । छेउछाउका रुखहरूमा यस्तै प्रकृतिका बत्तीले रुखलाई सजाइएको देखिन्छ । वातावरण संरक्षण ऐन, २०७६ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लगायतले यस्ता कार्यलाई निषेध गरेको छ । संविधानले पनि जनसाधारणमा वातावरणीय स्वच्छतासम्बन्धी चेतना बढाई औद्योगिक एवं भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्दै वन, वन्यजन्तु, पन्छी, वनस्पति तथा जैविक विविधताको संरक्षण, संवर्धन र दिगो उपयोग गर्ने नीति अख्तियार गरेको छ । मूल कुरा त व्यवहारको हो । मानवीय व्यवहारमा स्वतःस्फूर्त परिवर्तन गराउन यस्ता अभियान सार्थक हुने विश्वास अभियानकर्मीले व्यक्त गरेका छन् ।
काठमाडौँबाट सुरु भएको यो अभियान नेपालभरमा राखिएका त्यस्ता बत्ती हटाउन केन्द्रित हुने भएको छ । रुखमा झिलीमिली बत्ती राखिनु विकास र समृद्धिको सूचक होइन । जथाभावी बत्ती बालेर जीवजन्तु तथा चराचुरुङ्गीलाई अशान्त बनाउनु मानवीय हित अनुकूल पनि होइन । कृत्रिम प्रकाशले गर्दा चराको उठ्ने, आहार खोज्ने र आराम गर्ने समयमा परिर्वतन हुँदा प्रजनन चक्रलाई बिथोलेको चराविज्ञहरूको भनाइ पनि उत्तिकै मननीय छ । तसर्थ संरक्षणकर्मीको अभियानमा सम्बन्धित निकायहरूको पनि ध्यान केन्द्रित हुन आवश्यक छ ।