• २४ वैशाख २०८१, सोमबार

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वनमा पोखरी

blog

वनमा पोखरी । फाइल तस्बिर

म्याग्दी, वैशाख १२ गते । म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालिएकाे छ । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा जिल्लाका १० वटा सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालिएको हो । 

सहायक वन अधिकृत विनयबहादुर अधिकारीले पानी र आहारका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्नका लागि पोखरी निर्माण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । “पानी र आहाराको खोजीमा वन्यजन्तु मानव बस्तीमा नआउन् भनेर जङ्गलमै पोखरी बनाउन लागिएको हो । वनमै पानी र आहारा भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा छ”, अधिकारीले भन्नुभयो ।

उहाँका अनुसार बेनी नगरपालिका-५ को जैरीखेत र गाज्ने, बेनी नगरपालिका-२ को सिद्धभूमे हरियाली, मालिका गाउँपालिका-१ को कल्लेरी, वडा नम्बर ७ को रानीवन, मङ्गला-२ को प्रगति, धवलागिरि गाउँपालिका–३ को दर र अन्नपूर्ण गाउँपालिका-२ को पातलखर्क सामुदायिक वनमा पोखरी निर्माणका लागि सम्झौता भइसकेका छन् । ६१ दशमलव ७५ वर्गमिटर क्षेत्रफलमा बन्ने पोखरीमा ६१ हजार लिटर पानी सङ्कलन गर्न सकिनेछ । 

डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीले यसअघि वनमा निर्माण गरिएका पोखरी प्रभावकारी भएकाले चालु आर्थिक वर्षमा समेत प्रतिपोखरी एक लाख बजेट विनियोजन गरी पोखरी निर्माणलाई निरन्तरता दिइएको बताउनुभयो । यसअघि आव २०७८-७९ मा १० र २०७९-८० मा छ गरी १६ वटा पोखरी निर्माण गरिएका उहाँले जानकारी दिनुभयो । 

दह सामुदायिक वन दुखुलेकका अध्यक्ष ओमकार रोकाले वनमा निर्माण गरिएका पोखरीले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै जङ्गलमा पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेको बताउनुभयो । जिल्लामा पछिल्लो समयरतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु नजिकको मानव बस्तीमा आएर क्षति पुर्‍य ाउन थालेका छन् । यसरी बस्तीमा पस्ने वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्ने गर्दछन् । रासस