• ३० वैशाख २०८१, आइतबार

सन्दर्भ : भूकम्प दिवस

भूकम्पको चेतावनी : हिँड्दै छ पाइला मेट्दै छ

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख १२ गते ।  नेपालमा २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प गएको नौ वर्ष भयो । त्यसपछि पनि लगातार भूकम्प र पराकम्पन जाने क्रम जारी छ । 

वैशाख १२ को भूकम्पको मात्र ६० हजारभन्दा बढी पराकम्पन गएका थिए । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र स्थापना भएयता पूर्वदेखि पश्चिम नेपालसम्म गएका प्रमुख भूकम्पसमेत गरेर डेढ लाखभन्दा बढी पराकम्पन गएका छन् । केन्द्र २०३७ सालमा स्थापना भएको हो । 

निरन्तर धक्का अझै ठुलो भूकम्पको शक्ति नेपालको जमिनमुनि संरक्षित छ भन्ने जनाउ हो । नौ वर्षयता बारम्बार आइरहेको भूकम्पको धक्काले चेतावनी दिइरहे पनि सुरक्षित भविष्यको अभ्यास र पहल हुन नसकेको विज्ञहरू औँल्याउनुहुन्छ । आफूलाई परेकोभन्दा देखेकाले लामो समय भूकम्पलगायतका घटना स्मरणमा राख्न सक्दैनन् । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले भन्नुभयो, “जसले भोगेको हुन्छ, उसले अलि लामो समय सम्झन्छ तर त्यो पनि अरूको देखासिकीमा अघि बढ्छ ।” 

मानवीय स्वभावै बिर्सने प्रकृतिको हुनाले त्यसलाई झक्झकाइराख्न जरुरी हुने उहाँ औँल्याउनुहुन्छ । उहाँका अनुसार भवन विभागले भवन निर्माणसंहिता दिएको छ तर मानिसले त्यसलाई अनुशरण नगरी घर बनाउने, बनाइने संरचनाको सुरुवातदेखि नै मापदण्ड अनुसारको अनुगमन नहुने विषय पनि बिर्सने सूचकका रूपमा रहेका छन् । 

खानी तथा भूगर्भ विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी पनि भूकम्पले क्षति गरेका क्षेत्रकाले जति महसुस गर्छन्, त्यति अरूले नगर्ने बताउनुहुन्छ । त्यसैले पनि भूकम्पको चेतावनीको बेवास्ता भइरहेको छ । कतिपय कुरा देशको आर्थिक अवस्थामा पनि भर पर्छ । उहाँले भन्नुभयो, “प्रायः सबैको ध्यान के खाने, के लाउने भन्नेमा बढी सीमित हुँदा भविष्यको सुरक्षित बास र समाजका लागि लगानी पहिलो प्राथमिकतामै पर्दैन ।” 

भूकम्पको उच्च जोखिममा रहेका देशको पाठ्यक्रममै जानकारीमूलक शिक्षा हुनुपर्ने उहाँको सुझाव छ । सरकार र अन्य सरोकारवाला निकायले पनि भूकम्पबारे दिवसबाहेक अन्य समयमा दिनुपर्ने सचेतनामूलक गतिविधि गर्ने चलन छैन । ठुलो समुदायलाई लक्षित गरिने प्रदर्शनी, सङ्ग्रहालय आदिको व्यवस्था गरेर निरन्तर भूकम्पबारे पनि जानकारी दिइएको छैन । 

सचेतना कम भएको प्रमाणै बझाङ, जाजरकोट, डोटीलगायतका क्षेत्रमा भूकम्पले पारेको मानवीय तथा भौतिक क्षति हो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मानिसको मस्तिष्कले कुनै पनि घटनालाई चार वा पाँच वर्षपछि बिर्सने गरेकाले पनि भूकम्पमा बढी क्षति भइरहेको छ । 

उहाँले थप्नुभयो, “विस्मृतिमा गएका त्यस्ता घटनालाई ताजा बनाउन जसले जुन माध्यमबाट बुझ्छ र जानकारी राख्न सक्छ ।” विगतको भोगाइ र सिकाइलाई त्यसरी नै सम्झाइरहनु पर्छ । सञ्चारमाध्यम, अध्ययन अनुसन्धान, विश्वका अभ्यासमार्फत निरन्तर बताइरहनुपर्ने हुन्छ । नेपालको भूकम्पको सन्दर्भमा सरकार र सरकारी निकायले केही पहल गरे पनि त्यो पर्याप्त नभएको उहाँले स्वीकार गर्नुभयो । 

बृहत् फोटो प्रदर्शनी 

नेपालमा २०७२ साल वैशाख १२ गते ११:५६ बजे गोरखाको दक्षिणपूर्व बारपाकलाई केन्द्रबिन्दु बनाई गएको ७.९ म्याग्निच्युुडको विनाशकारी भूकम्प गएको थियो । सोको सम्झनामा बुधबार खानी तथा भूगर्भ विभाग तथा महिला पत्रकारको संस्था संवाहिका समाज नेपालको संयुक्त आयोजनामा बृहत् फोटो प्रदर्शनी गरिँदै छ । 

फोटो प्रदर्शनीमार्फत ती विगत बिर्सन नदिई सम्भावित भूकम्पबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि हरपल सचेत रहनु पर्छ भन्ने सन्देश दिने प्रयास गरिएको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताउनुभयो । खानी तथा भूगर्भ विभाग, लैनचौर परिसरमा हुने प्रदर्शनीमा गोरखा, जाजरकोट, डोटीलगायतका भूकम्पसम्बन्धी तस्बिर प्रदर्शनीमा राखिने संवाहिका समाज नेपालले जनाएको छ ।