सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा), कात्तिक १२ गते । धनकुटाका किसानले उत्पादन गरेको अकबरे खोर्सानीकाे बजार भाउ घटेपछि किसान चिन्तित बनेका छन् । व्यवसायिक रुपमा खेती गर्दै आएका किसानले उत्पादन गरेको अकबरे खोर्सानीको उचित बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका हुन् ।
किसानले उत्पादन गरेको अकबरे खोर्सानीले बजार नपाएको गुनासो किसानले गर्दै आएका छन् । बजार भाउ घटेपछि अकबरे खोर्सानीको व्यावसायिक खेती गरिरहेका किसान निराश बनेका छन् । गत वर्ष अकबरे खोर्सानी प्रति केजी रु ३ सयदेखि ४ सयसम्म बिक्रि भएको थियो । तर यस वर्ष हाल बजारभाउ प्रति केजी १ सयदेखि १ यस ८० रुपियाँमा मात्रै कारोबार भइरहेको किसान प्रदिप ओझाले बताउनुभयो । उहाँले करिब ५ रोपनी क्षेत्रफलमा करिब ३ हजार बोट अकबरे लागउनुभएको छ । उत्पादन बढी भएपछि बजार मूल्य घटेको हो कि भन्ने उहाँ बताउनुहुन्छ । जसले गर्दा अकबरे खोर्सानी कृषक मारमा छौ, कृषक ओझाले गुनासो गर्नुभयो ।
त्यसो त पहिले अकबरे खोर्सानीको बजार राम्रो थियो, घरैमा आएर व्यापारीले खरिद गर्थे अहिले उत्पादन भएपनि मूल्य नभएको किसानले गुनासो गरे । पछिल्लो समय अकबरे खेती विस्तारका लागि सबैले सहयोग गर्ने, तर बजारीकरणका लागि कसैले वास्ता नगरेपछि वर्षेनी कृषिउपजको बजारमा समस्या सिर्जना हुँदै गएको किसान बताउँछन् । अकबरे खोर्सानीको बजार जेठदेखि सुरु हुन्छ । गएका वर्षमा उत्पादन पनि राम्रो र बजारभाउ पनि राम्रो थियो तर यस वर्ष भने उत्पादन भएपनि उचित मूल्य नपाएको कृषकको भनाइ छ ।
अकबरेको खोर्सानीको बजार मूल्य नपाउँदा किसान मारमा परेको पाख्रीबास नगरपालिका–७, का किसान भूपाल थापालेल बताउनुभयो । मूल्य नपाएकाले खेती नै संकटमा पर्ने हो कि उहाँले गुनासो गर्नुभयो । थापाले करिब ४ रोपनी क्षेत्रफलमा अकबरे खोर्सानी लागाएको बताउनुभयो । उहाँले प्रति केजी १ यस ५० रुपियाँले विक्रि गरेको बताउनुभयो । "गएको वर्षभन्दा यस वर्ष बजार भाउन नपाउँदा हामी मारमा परेका छौं", उहाँले गुनासो गर्नुभयो ।
अकबरे खोर्सानी एकपटक रोपेपछि पहिलो वर्ष सामान्य उत्पादन हुन्छ । दोस्रो वर्ष राम्रो उत्पादन हुन्छ र तेस्रोदेखि पाँचौँ वर्षसम्म पनि उत्पादन हुन्छ । जिल्लाका धेरै किसानले यसको व्यावसायिक खेती गर्न थालेका छन् । थोरै मेहनत र लागतबाटै मनग्ये आम्दानी गर्न सकिने भएपछि किसानले खाद्यान्न बाली छाडेरै अकबरे खुर्सानीको खेती थालेका हुन् ।
कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा करिब ८० हेक्टर क्षेत्रफलमा किसानले व्यवसायिक रुपमा अकबरे खोर्सानीको गर्दै आएको जनाएको छ । केन्द्रका सूचना अधिकारी रत्न ठाडा मगरले दिएको जानकारी अनुसार जिल्लामा अघिल्लो आ.व. २०८०-०८१ मा ८५ हेक्टर क्षेत्रफलमा ९ सय ७३ दशमलब १५ मेक्ट्रिकटन उत्पादन भएकोमा गत आ.व. २०८१-०८२ मा ८ सय मेट्रिक्टन अकबरे खोर्सानी उत्पादन भएको जानकारी दिनुभयो ।