नयाँदिल्ली, कात्तिक १२ गते । बङ्गलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी लिगबिना हुने आगामी निर्वाचनले देशमा नयाँ विभाजनको ‘बीज रोप्ने’ चेतावनी दिनुभएको छ ।
उहाँले एएफपीलाई पठाउनुभएको लिखित प्रतिक्रियामा, आफ्नो पतनपछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै मानवता विरुद्धको अपराधको मुद्दालाई ‘न्यायशास्त्रको मजाक’ र ‘पूर्वनिर्धारित फैसला’ भन्दै कडा आलोचना गर्नुभयो । सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहपछि उहाँको १५ वर्ष लामो शासन अन्त्य भएको थियो ।
भीडले सरकारी निवासमा आक्रमण गरेपछि उहाँ हेलिकप्टरमार्फत देशबाट भाग्नुभएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार आन्दोलनमा दमनका क्रममा करिब एक हजार ४०० जनाको मृत्यु भएको थियो । यो अहिले उहाँमाथि चलिरहेको मुद्दाको केन्द्र विषय बनेको छ । ७८ वर्षीया हसिनाले अहिले भारतमा शरण लिइरहनुभएको छ ।
उहाँले आफूविरुद्धको आरोपलाई राजनीतिक प्रतिशोधको परिणाम बताउँदै भन्नुभयो, “ममाथि लगाइएका सबै आरोप पूर्णरूपमा अस्वीकार्य र प्रमाणरहित छन् । यो अनिर्वाचित प्रशासनले तयार पारेको राजनीतिक षड्यन्त्र हो ।” उहाँले भन्नुभयो, “अवामी लिगको सहभागिता बिना हुने निर्वाचन विश्वसनीय हुन सक्दैन । यस्ता कदमले देशमा भविष्यको विभाजन र अस्थिरताको बीज रोप्ने छ ।”
नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले मे महिनामा अवामी लिगमाथि आतङ्कवाद विरोधी ऐनअन्तर्गत प्रतिबन्ध लगाएको थियो । यसलाई ह्युमन राइट्स वाचले ‘कठोर र अलोकतान्त्रिक’ भन्दै निन्दा गरेको थियो । हसिनाले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सबै दलको प्रत्यक्ष सहभागिता आवश्यक रहेको बताउँदै भन्नुभयो, “निर्वाचन भनेको विचारको प्रतिस्पर्धा हो । तपाईले कुनै पार्टीलाई मन नपरेर बहिष्कार गर्न सक्नुहुन्न ।”
उहाँले विद्रोहका दिन सम्झँदै भन्नुभएको छ, “ती डर लाग्दा क्षणमा ज्यान गुमाएका सबैका लागि म गहिरो शोक व्यक्त गर्छु ।” उहाँले आफ्नो शासनकालमा भएका गल्ती स्वीकार गर्दै पनि भन्नुभयो, “केही त्रुटि आदेशको शृङ्खलामा भएका थिए, तर निर्णय सदभावका साथ, हिंसा घटाउने उद्देश्यले गरिएका थिए ।”
अभियोजन पक्षले अदालतमा प्रहरीद्वारा प्रमाणित अडियो टेप प्रस्तुत गरेको छ, जसमा हसिनाले सुरक्षाकर्मीलाई प्रदर्शनकारी विरुद्ध ‘घातक हतियार प्रयोग गर्न’ आदेश दिएको उल्लेख छ । तर उहाँले ती रेकर्डिङलाई ‘सन्दर्भबाट बाहिर निकालिएको’ बताउनुभयो । उहाँले हालै आफ्ना समर्थकमाथि भइरहेको दमनलाई पनि औँल्याउँदै भन्नुभयो, “अपरेसन डेभिल हन्ट नामक कारबाहीमा हजारौँ अवामी लिग कार्यकर्ता पक्राउ परेका छन्, यो पूर्णरूपमा राजनीतिक सफाया हो ।”
यसैबिच, उहाँले आफ्नै शासनकालमा बेपत्ता भएका नागरिकको विषयमा कुनै प्रतिक्रिया जनाउनुभएको छैन । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा अवामी लिगका वकिलले हालै ‘प्रतिशोधात्मक हिंसा’ का घटनाको अनुसन्धानको माग गरेका छन् । नोभेम्बर १३ मा फैसला हुने यो मुद्दामा दोषी ठहरिए मृत्युदण्ड हुन सक्ने बताइएको छ ।
त्यसबारे हसिनाले भन्नुभयो, “दुःखको कुरा, फैसला पहिले नै तय भइसकेको छ, त्यसैले जब त्यो आउँछ, म आश्चर्यचकित हुने छैन ।” भविष्यमा राजनीतिमा फर्कनेबारे प्रश्न गर्दा उहाँले जवाफ दिनुभयो, “मेरो प्राथमिकता बङ्गलादेशको स्थिरता र जनताको कल्याण हो, व्यक्तिगत सत्ता होइन ।” रासस/एएफपी