• ११ जेठ २०८१, शुक्रबार

धनकुटामा पनि टक्सार !

blog

धनकुटाबाट निष्कासन गरिएको ढ्याक र ढ्याक बनाउने मेसिनका साथमा ढ्याक बनाउन प्रयोग गरिएको सिसा । तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी
धनकुटा, वैशाख १० गते । 
मुद्रा निष्कासनको इतिहास रोचक हुँदै गएको छ । यस विषयमा खोज र अनुसन्धान कम भएको पाइन्छ । 

यस विषयमा धनकुटाका ऐतिहासिक, पुरातात्त्विक एवम् धार्मिक सम्पदाहरू पञ्चकन्या देवीको गुफा, दक्षिणकालीको मन्दिरमा रहेका घण्टहरू, मधुगंगा, धर्मगंगा, छिन्ताङ्ग देवीको मन्दिर, निशान भगवती मन्दिर, विश्रान्ति मन्दिर, गुम्बा, भेडेटारस्थित नमस्ते झरना, पाथीभरा देवीको मन्दिर, शंखेश्वर महादेव, काली झर्ना, रानीताल, बक्रकुण्ड पञ्चेश्वर महादेव, शिवमन्दिर, राम मन्दिर लगायतका धार्मिक तथा पर्यटकीय स्थल रहेका छन् ।

यसैगरी, ऐतिहासिक पुरातात्त्विक रूपमा रहेको धनकुटाको टक्सार स्थानीय तह, प्रदेश र सङ्घको समेत आकर्षण र जिज्ञासाको विषय बन्दै गइरहेको छ । धनकुटाबाट पनि मुद्रा निष्कासन गरिन्थ्यो भन्दा अचम्म लाग्न सक्छ ! तर राणाकालीन समयमा धनकुटामा हाल भिमदल गण सल्लेरी ब्यारेक परिसरमा रहेको स्थानमा टक्सार रहेको थियो ।

राणाकालीन समयमा पानीबाट चल्ने पैसा निष्कासन गर्ने मेसिन राखिएको र त्यसलाई पान ढिकी टक्सार घर पनि भन्ने गरिन्थ्यो । उक्त पान ढिकीबाट त्यतिबेला तामाका दुई पैसा र पाँच पैसाका (टक) ढ्याक निकाल्ने गरिएको जानकारहरू बताउँछन् । उक्त मेसिन हालसम्म पनि ब्यारेक परिसरमा रहेको छ ।


वि.सं. १९८७ मा तत्कालीन बडाहाकिम कर्नेल राज शमशेर भएको समयमा धनकुटामा पैसा छाप्ने मेसिन ल्याइएको नरपति पोखरेलको कृतिमा उल्लेख छ । राणाकालीन समयमा सल्लेरी छेउमा रहेको गौणाको कार्यालय परिसरमा टक्सारी विभाग खडा गरी पैसा निष्कासन गर्ने मेसिन राखियो ।  टक्सार बन्द भएपछि उक्त टक छाप्ने मेसिन सो ठाउँबाट सारेर हाल राखिएको भवनमा ल्याइएको प्राध्यापक डाक्टर गोपाल बहादुर भट्टराई बताउनुहुन्छ ।

तत्कालीन समयमा प्रचलनमा आएका तामाका दुई पैसा र पाँच पैसाका ढ्याक बजारमा आवश्यक सामान किन्न प्रयोगमा रहेको, धनकुटाबाट निष्कासन गरेको उक्त मुद्रामा श्री भवानी र श्री ५ त्रिभुवन लेखिएको उहाँको भनाइ छ । धेरै मानिस जुटेर पनि बोक्न नहुने पैसा छाप्ने यन्त्र फलामको ज्यादै गहकिलो र बाटुलो हुनाले भारतबाट धनकुटा ल्याउन असम्भवै देखिन्थ्यो । तर क.साहेब कै बुद्दिले भारतबाट धनकुटामा ल्याइछाडेको इतिहास वर्णित रहेको छ ।

उक्त समयमा आवतजावतका लागि सहज बाटो र यातायातको सुविधा नभएकाले पैसा निष्कासन गर्ने मेशिन भारतको जोगमनिबाट धरानको फुस्रे हुँदै चिउरीवास, धारापानी, फेदी, मूलघाट झोलुङ्गे पुल तरेपछि धनकुटे खोलाबाट रमिते चौतारामा आएर भारी बिसाउने, थकाई मार्ने, गर्दै टेकुनाला, घुमाउने चौतारा, सिरवनी, हुलाकटोल हुँदै मानिसहरूलाई काँधमा बोकाएर धनकुटा पुर्‍याइएको इतिहास वर्णित रहेको छ ।

धनकुटाका ऐतिहासिक, पुरातात्त्विक एवम् धार्मिक सम्पदाहरू पञ्चकन्या देवीको गुफा, दक्षिणकालीको मन्दिरमा रहेका घण्टहरू, छिन्ताङ्गदेविको मन्दिर, निशान भगवती मन्दिर, नमस्ते झरनालगायतका धार्मिक तथा पर्यटकीय स्थल रहेका छन् । यसैगरी ऐतिहासिक पुरातात्त्विक रूपमा रहेको धनकुटाको टक्सार स्थानीय तह, प्रदेश र सङ्घको समेत आकर्षण र जिज्ञासाको विषय बन्दै गइरहेको छ ।

ऐतिहासिक सम्पदाको प्रचारप्रसार आवश्यक तर्फ मध्यनजर गर्दै नेपालको ऐतिहासिक पहिचान बोकेको पैसा निष्कासन गर्ने टक्सारको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्न सके इतिहासलाई अहिलेको पुस्ताले अध्ययन अवलोकन गर्न पाउने उपरथी डा. आस बहादुर तामाङ बताउनुहुन्छ ।



यस टक्सारलाई धनकुटाको ऐतिहासिक पुरातात्त्विक सम्पदा मानी जनसमक्ष ल्याउने, यसैको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने, यसको खोज अनुसन्धान गरी प्रदेश र सङ्घीय सरकारमा समेत थप सहयोगको वातावरण मिलाउने धनकुटा नगरपालिकाको योजना रहेको छ ।

पुरातात्त्विक स्रोतको रूपमा रहेको टक्सारले तत्कालीन समयको इतिहास, संस्कृति तथा सभ्यताको बारेमा जानकारी दिन महत्त्वपूर्ण भूमिका खेल्दछ । धनकुटाबाट निष्कासन भएका मुद्रा गाउँघरमा अझैपनि सुरक्षित छन् । तेतिबेला श्रीमान् पुरोहित गर्ने भएकाले दक्षिणा स्वरूप दिइएका दुई पैसाले भैँसी र पाँच पैसाका ढ्याकले आवश्यक सबै कुरा आउने तर अहिले भने प्रयोग विहीन हुँदा घैटामा थन्काउनु परेको धनकुटा नगरपालिका ३ की स्थानीय गङ्गा भण्डारीको गुनासो छ ।

सुरक्षा निकायको समन्वयमा सर्वसाधारण जनताको पहुँचमा पहिला टक्सार छापिने ठाउँ, छाप्ने तरिका जान्न र अवलोकन सहज बनाउन स्थानीय स्तरमा छलफल गरेर अगाडी बढ्नु पर्ने धनकुटा नगरपालिकाका प्रशासन तथा जनशक्ति विकास उपशाखा शाखा अधिकृत डबर रोगु बताउनुहुन्छ ।

त्यस समयमा चलनचल्तीमा आएको पैसा बनाउने ठाउँ टक्सार नै खेल्ने ठाउँ, खेल्ने ठाउँ नै टक्सार भएकोले यही ढ्याकले खेल्ने गरेको स्थानीय भैरव श्रेष्ठ बताउनु हुन्छ । अझैपनि उहाँसँग तेतिबेला आमाले किनमेलमा प्रयोग गरेका आफूले खेलेका वि.सं. १९९२ देखि १९९५ लगायतका सालमा धनकुटाबाट निकालिएका पाँच पैसाका बाक्ला तामाका कतिपय ढ्याक खेल्दा माटोमा घोटिएर लेखिएको अक्षर समेत मेटिएका अवस्थामा सुरक्षित छन् ।

धनकुटा नगरपालिका वडा ३ का स्थानीय डा. दामोदर वाग्लेसँग पनि यस्ता धेरै पैसा छन् । जुन पैसाको माला बनाएर सजाएर पनि राखिएको छ । उक्त पैसा छाप्ने मेसिन २००७ साल सम्म प्रयोगमा आएको स्थानीय डा. वाग्लेको भनाइ छ ।

राष्ट्रिय मुद्रा सङ्ग्रहालयमा विभिन्न विद्यालयका, विद्यार्थी, आन्तरिक तथा बाह्य पर्यटकहरू दिनहुँ आएर अवलोकन गर्ने गर्दा राजस्व समेतमा वृद्धि भई शैक्षिक हबको रूपमा समेत सङ्ग्रहालयलाई विकास गर्न सकिने देखिन्छ । धनकुटाबाट निष्कासन गरिएका मुद्राहरू राष्ट्रिय मुद्रा सङ्ग्रहालयमा भने सङ्कलनमा नरहेको र राख्न आवश्यक रहेको मुद्रा संग्राहालयका प्रमुख सुभाष चन्द्र डगोल बताउनुहुन्छ ।

हालसम्म उक्त टक्सार नेपाली सेनाको संरक्षणमा रहेकाले सुरक्षित रहेको छ । उक्त सिक्का बनाउने मेसिन (टक्सार) र सिक्का बनाउन प्रयोग गरिने सिसा हालसम्म पनि भीमदल गण सल्लेरी ब्यारेकमा सुरक्षित रहेको भीमदल गण सल्लेरी ब्यारेक धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापा बताउनुहुन्छ ।

तत्कालीन समयमा विभिन्न ठाउँमा टक्सार रहेका थिए । पूर्वमा भोजपुर र धनकुटामा रहेका टक्सारहरु नेपाली सेनाले सुरक्षा गर्ने गरेको पाइन्छ । पैसा छाप्न छोडेपछि सरकारले यो मेसिन सुरक्षाका लागि सेनालाई जिम्मा लगायो या टक्सार संरक्षण कै लागि पनि त्यस समयमा सेना राखेको हुन सक्ने पुरातात्त्विक विभाग महानिर्देशक सौभाग्य प्रधानाङ्ग अनुमान गर्नुहुन्छ । उहाँले अहिलेको परिवेशमा हिजोका दिनमा कसरी मुद्रा निष्कासन गरिन्थ्यो भन्ने विषयमा सर्वसाधारणहरूलाई जानकारी गराउँदै अवलोकनका लागि खुल्ला गरिनु पर्नेमा बताउनुभयो ।

धनकुटाबाट निष्कासन गरिएका मुद्राहरू राष्ट्रिय मुद्रा संग्राहालयमा भने सङ्कलनमा नरहेको मुद्रा सङ्ग्रहालयका प्रमुख सुभाष चन्द्र डगोल बताउनुहुन्छ । उहाँले टक्सार (नेपाली सेनाको) आर्मी ब्यारेकमा रहेका कारण सबै सर्वसाधारणको पहुँचमा नभएकाले सर्वसाधारणको पहुँचमा पुग्ने गरी राख्नु पर्नेमा जोड दिनुभयो ।

धनकुटामा रहेको टक्सार धनकुटाको मात्र नभई नेपालकै सम्पत्ति कै रूपमा रहेको छ । यस्तो सम्पत्तिलाई ब्यारेक भित्र नराखेर सर्वसाधारणको पहुँचमा पुर्‍याइ यसको महत्त्व जनमानसमा पुर्‍याउने तर्फ सम्बन्धित सबै निकायले मिलेर संरक्षण गर्नु पर्ने राष्ट्रिय सङ्ग्रहालय प्रमुख जयराम श्रेष्ठ भन्नुहुन्छ ।

सुन्नमा आएको भीमदल गणमा रहेको मुद्रा छाप्ने टक्सारलाई उजागर गर्न सके जनताले सहज रूपमा इतिहासलाई अवलोकन गर्न र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिनुका साथै शिक्षाको हबका रूपमा विकास गरी पर्यटनमा वृद्धि गर्न सकिने विश्वास रहेको बताउनु हुन्छ ।

धनकुटा नगरपालिका क्षेत्रभित्र रहेको ऐतिहासिक पुरातात्त्विक वस्तुहरूमा टक्सार पनि पर्दछ । पुरातात्त्विक स्रोतको रूपमा रहेको टक्सारले तत्कालीन समयको इतिहास, संस्कृति तथा सभ्यताको बारेमा जानकारी दिन महत्त्वपूर्ण भूमिका खेल्दछ । टक्सार अवलोकनका लागि खुल्ला गरिएर प्रचारप्रसार गरेर पर्यटक भित्राउन सकिने धनकुटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईको भनाइ छ ।

नेपालको इतिहासमा छुट्टै विशिष्ट गौरवयुक्त र गरिमामय पहिचान बोकेको यस धनकुटाको पहिचान लोप हुन लागेको अवस्थामा छ । बजार शून्य हुँदै गएको छ । यस्ता ऐतिहासिक  पुरातात्त्विक संरचनाहरूलाई जगेर्ना गर्दै सर्वसाधारणको पहुँचमा पुर्यायी टक काट्न दक्ष र सिप युक्त नागरिकको व्यवस्थापन गरी परापूर्वकालमा झैँ टक्सारले सिक्काको स्वरूप काटेर जिल्लामा आएका पाहुनालाई मायाको चिनो स्वरूप सौगातका रूपमा दिन सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङ बताउनु हुन्छ ।

नेपालको ऐतिहासिक पहिचान बोकेको पैसा निष्कासन गर्ने टक्सारको संरक्षण र प्रवर्द्धन गर्न सके इतिहासलाई अहिलेको पुस्ताले अध्ययन अवलोकन गर्न पाउने थिए भने आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत टक्सारले महत्त्वपूर्ण टेवा पुर्‍याउने देखिन्छ ।

धनकुटामा रहेको टक्सार धनकुटाको मात्र नभई नेपालकै सम्पत्ति कै रूपमा रहेको छ । यस्तो सम्पत्तिलाई उचित रूपमा यसको व्यवस्थापकीय प्रणाली विकास गरी सर्वसाधारणको पहुँचमा पुर्‍याउँदा उपयुक्त हुने देखिन्छ । यसतर्फ बेलैमा सरोकारवाला निकायको ध्यान जान जरुरी छ । उक्त कार्यका लागि सबैको साथ र सहयोग आवश्यक देखिन्छ । सर्वसाधारणको समेत पहुँचमा पुग्नेगरी राख्नु पर्ने स्थानीयको मागलाई मध्यनजर गर्दै उक्त ढ्याक र ढ्याक बनाउने टक्सारलाई  सुरक्षित र व्यवस्थित गरेर सोही स्थानमा सङ्ग्रहालय बनाई सर्वसाधारणको पहुँचमा पुर्‍याउन सके धनकुटाको पहिला गुमेको शान फर्काउन सकिने स्थानीयमा आशा पलाएको छ ।

स्थानीयले हेर्न र देख्न पाउनका लागि स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायहरूबाट उपयुक्त प्रणाली तयार गरी उचित स्थानमा राखी व्यापक रूपमा प्रचारप्रसार गराउनु पर्ने देखिन्छ । ऐतिहासिक धरोहरको संरक्षण गर्दै खोज अनुसन्धान गरेर जननागरिकलाई जानकारी दिने र सरोकारवाला निकायलाई समेत आधार प्रदान गर्ने उद्देश्यले पालिकाले वृत्त चित्र समेत निर्माण गर्ने तयारी गरेको छ । ऐतिहासिक धरोहरको संरक्षण एवम् आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत टक्सार जस्ता ऐतिहासिक संरचनालाई खुलाउन सके यस्ता संरचनाले महत्त्वपूर्ण टेवा पुर्‍याउने देखिन्छ ।