• १४ जेठ २०८१, सोमबार

लौन्यारीलाई गहुँ काट्ने चटारो

blog

बाजुरा समाचारदाता

बाजुरा, वैशाख १० गते । 

छोर्‍याट्टो (केटा) : वैशाख गहुँ टिप्न भनी पोइल बाइगइ झुमा ।

लौन्यारी दि हेल पन वैशाखका उमा ।।

छोर्‍याट्टी (केटी) : आउन्या भया खेतमै आउनु न त उता बाइजाऊ ।

गहुँ टिप्ने चटारो पर्‍यो उमा पोली खाइजाऊ ।।


माथि उल्लिखित देउडा गीत वैशाखमा गहुँ लौन्यारी (महिला) लाई उद्धृत गर्दै गाउने गरिन्छ । वैशाख गहुँ पाक्ने र त्यतिबेला उमा खाने (काँचो रहेको गहुँलाई आगोमा पोलेर खाने) चलन छ । 

यही उमा माग्ने गरेर यहाँका केटाले गहुँ लौन्यारीलाई यो गीत गाएर उमा माग्ने गर्छन् । लौन्यारी तथा केटीले पनि केटालाई गीतमार्फत खेतबारीमा बोलाएर उमा काटिदिने गर्छन् । गहुँ काट्न महिला र गहुँ झार्न पुरुष खटिने गर्छन् । 

यहाँका महिला गहुँ टिप्ने बेलामा देउडा गीतसमेत गाउने गर्छन् । गहुँ टिप्दा लागेको थकाइ मेट्न गहुँ टिप्ने बेलामा गीत गाउने गरेको स्थानीय जुना सेरालाले बताउनुभयो । बाजुराका महिलालाई गहुँ काट्ने चटारो परेको छ । गत कात्तिक महिनामा छरेको गहुँ वैशाखमा पाक्न सुरु भएपछि अहिले महिलालाई गहुँ काट्ने चटारो परेको हो ।

असिनापानी परेर पाकेको गहुँ चुट्छ कि भन्ने डरले बिहान दिउँसो गहुँ भिœयाउने काममा निकै व्यस्त हुने गरेको स्थानीय महिला बताउँछन् । असिनापानीले गहुँ झार्छ कि भन्ने डरले बिहान दिउँसो गहुँ भित्र्याउन निकै हतार भएको बुढीगङ्गा नगरपालिका–९, सेरालवाडाकी जुना सेरालाले बताउनुभयो । “कात्तिकमा लगाएको खेती वैशाखको पहिलो सातादेखि पाक्न थालेको छ । यो पाकेको बाली भित्र्याउनकै लागि अहिले बिहान दिउँसो खेतमै व्यस्त हुने गरेका हुन्छौँ,” उहाँले भन्नुभयो । तराईको जस्तो मेसिन उपकरण भए गहुँ भित्र्याउन चाँडो हुन्थ्यो । हातले निगालको सरेटाको भरमा गहुँ टिप्दा निकै समय लाग्ने गरेको सेरालाले बताउनुभयो । यहाँ हँसियाको भरमा गहुँ हातले टिप्ने गर्छन् । कोही सरेटा लगाउने गर्छन् । 

अधिकांश महिला निगालाको सरेटाले (निगालाको दुई फिट जति लामो काठ) गहुँ समात्ने र त्यसपछि कम्मरमा राखेको आँसीले गहुँ काटेर डोकोमा राख्ने गर्छन् । सहरबजारको जस्तो यहाँ गहुँ काट्ने मेसिन वा थे्रसर छैनन् । 

यहाँका महिलाले विशेष गरी तीन किसिमले गहुँ टिप्ने गर्छन् । सरेटो, हँसिया र धान कोट जस्तै फेदबाट काट्ने गर्छन् । यसरी काटेको गहुँ घरमा ल्याउने र त्यसपछि ग्याब्री (गहुँ चुट्नका लागि काठबाट बनाए सामग्री) ले कुट्ने गर्छन् । 

बुढीगङ्गा, त्रिवेणीलगायतका नगरपालिकामा गहुँ वैशाखको पहिलो हप्तामै पाक्न सुरु हुन्छ भने जिल्लाको पूर्वीउत्तर क्षेत्रमा (माथिल्लो भाग) भने वैशाखको अन्तिम र जेठको पहिलो हप्ताबाट मात्र पाक्छ ।

यहाँ किसानले पासाङल्हामु, डब्लुके १२१४, डाँफेमुनाल र स्र्वगद्वारी जातको गहुँ लगाउने गरेका छन् । धेरैजसोले पुरानो स्थानीय जातकै गहुँ लगाउने गरेका छन् । दुई लाख ३० हजार ३७ हेक्टर जमिन भए पनि यसमध्ये २२ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ । 

सोमध्ये पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्षभरिमा सिँचाइ हुने गरेको छ । गहुँ हिउँदे बाली भएकाले हिउँदमा वर्षा भएन भने उत्पादन घट्ने गरेको छ । किसानले उन्नत जातको गहुँको बिउ प्रयोग गर्नाले पनि बाजुरामा गहुँ उत्पादन वृद्धि हुने गरेको छ । १० हजार ४६० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ भने सो जमिनबाट १७ हजार ७८२ मेट्रिक टन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।