• १० कात्तिक २०८२, सोमबार

मिथिलामा सामाचकेवा पर्व सुरु

blog

महोत्तरी,  कात्तिक १० गते ।  महोत्तरीसहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व सुरु भएको छ । दाजुभाइप्रति समर्पित सामाचकेवा पर्व मिथिलानी (मिथिलाका नारी)ले आइतबार रातिदेखि मनाउन थालेका हुन् । 

छठको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीकै दिन सामाचकेवा मनाउन थाल्ने परम्परा छ । कात्तिक पूर्णिमासम्म जम्मा ११ दिनको यो पर्वमा मिथिलानी आफ्ना दाजुभाइको सौर्य वखान गर्दै आपसी प्रेमपूर्ण सम्बन्धको कामनाका साथ मनाउँछन् । बोलिचालीमा ‘सामाखेल’ भनिने यो पर्व एउटै टोलबस्तीका मिथिलानी जम्मा भएर खेलिने रमाइलो खेल मानिन्छ । सधैँ चकमन्न रातमा सुरिलो स्वरमा आफ्ना दाजुभाइको पराक्रम, उपकारी गुण, ऐश्वर्य गाथा र आफुहरूप्रतिको प्रेम र समर्पणका भाव समेटिएका गीत गाउँदै मिथिलानी यो पर्व मनाउँछन् ।

महापर्व छठकै बिच ‘खरना’ का दिन सुरु गरिने यो पर्वमा माटो मुछेर बनाइएका सामा, चकेवा, वृन्दावन, सप्तर्षि, पक्षी र चुगला (कुरा लाउने) सहितका प्रतिमा विभिन्न रङले रङ्गाएर यी पात्रसँग गीत गाउँदै खेल्ने चलन छ । पर्व अवधिभरि दिनैपिच्छे डालामा दियो बालेर एक ठाउँमा भेला भई मिथिलानी प्रत्येक प्रतिमाको पात्रताको वर्णन गीतबाटै गर्छन् । यी गीतमा आफ्ना दाजुभाइले सामाजिक र उपकारी काम बहादुरी साथ गरेको भाव हुन्छ । 

खेलमा सधैँ चुगला पात्रलाई वृन्दावन (वनको आकृति) भित्र कुचोमा आगो सल्काएर दाह्री (दारी) झोस्ने चलन छ । मिथिलानी गीतमै चुगलालाई अनेक लाञ्छना लगाउँदै गाली गर्छन् । यो पर्व कात्तिक पूर्णिमाका दिन दाजुभाइले खेलका सबै प्रतिमा घुँडामाथि राखेर फुटाउने चलन छ । यसरी फुटाएका सामाका प्रतिमा निर्जन वनमा सेलाइन्छ । सामा प्रतिमा फुटाएपछि नयाँ धानको चिउरा र सख्खर दिदीबहिनीको पोल्टामा राखिन्छ । योसँगै दिदीबहिनीले दाजुभाइलाई मिष्टान्न भोजन गराउने र दाजुभाइले वस्त्रआभूषण र दक्षिणा दिएपछि पर्व समापन गरिन्छ ।

अघि द्वापर युगमा श्रीकृष्णकी छोरी सामाको चक्रधर (चकेवा) नामका सेनानायकसँगको प्रेमसम्बन्धबारे  एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा (कुरा लगाउँदा) छोरी स्वच्छन्द प्रवृतिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग यो पर्वको परिवेश रहेको मिथिलामा विश्वास गरिन्छ । 

कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्वले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाएर कृष्णसँग गरेको याचनाबाट उनीहरू श्रापमुक्त भई पूर्व योनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन रहेको पाइन्छ । दाजु साम्बको त्यही गुनलाई सम्झदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण लाल कर्ण बताउनुहुन्छ । रासस