• २१ वैशाख २०८१, शुक्रबार

सरकार दुई वर्ष चल्ने मुख्यमन्त्री केदार कार्कीको दाबी

blog

हरि कोइराला
उर्लाबारी, वैशाख ८ गते ।
विभिन्न कारणले पुनर्वास हुन छुटेका भुटानी शरणार्थीहरूका लागि सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा काम गरिरहेको इन्ट्रा फाउन्डेसनले शनिबार मोरङको पथरीशनिश्चरे र दमक नगरपालिकालाई एक/एक वटा एम्बुलेन्स प्रदान गरेको छ ।

फाउन्डेसनले पथरीशनिश्चरे १० स्थित भुटानी शरणार्थी शिविरमा आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुबै नगरपालिकाका प्रतिनिधिलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार स्वस्थानी कथामा  नवराज राजा भए जस्तै हात्तीले माला लगाएर सिंहासनमा राखेको सरकार भएकाले दुई वर्षसम्म स्थिर रहने बताउनुभयो ।

कार्कीले  भन्नुभयो,  ‘‘सरकारविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने कानुनी व्यवस्था छ । ढुक्क हुनुहोस् दुई वर्ष यही सरकार रहन्छ ।’’

मुख्यमन्त्री हात्ती पदयात्रा कार्यक्रमका विषयमा प्रष्ट पार्दै उहाँले भन्नुभयो, ‘‘मानिसले हात्तीको बसोवास क्षेत्रमा आक्रमण गरेकोले हात्ती मानव बस्तीमा छिरेको हो । जङ्जगको संरक्षण गर्दै उपभोग गर्न आग्रह गर्दै मुख्यमन्त्री कार्कीले उपयोग गर्न नजान्दाको परिणाम स्वरुप जङ्गली जनावरहरू बस्ती छिरेका हुन् ।’’

विभिन्न कारणले विदेशिएका नेपाली भाषीलाई जोड्ने इन्ट्रा फाउन्डेसनले शरणार्थी जीवन बिताइरहेका नोपलीहरूलाई निर्माण गरिएको स्वास्थ्य चौकीको मुख्यमन्त्री कार्कीले शनिबारनै उद्घाटन गर्नुभयो । मुख्यमन्त्री कार्कीले स्वास्थ्य उपचारका क्षेत्रमा इन्ट्रा फाउण्डेसनले गरेको योगदानको कदर गर्दै नोपली भाषी भुटानीहरू लागि बसोवासको प्रबन्ध मिलाउनुपर्नेमा जोड दिनुभयो । तर अमेरिका र अष्ट्रेलियाको पीआर प्राप्त गर्न मरिहत्ते गर्ने राज्यका उच्च पदमा बस्नेहरू सिराहामा बस्ने नेपालीलाई त नेपाली नागरिकता दिन रुचाउँदैनन्, भूटानी शरणार्थीलाई कसरी देलान, जिज्ञासा गर्नुभयो । कोशी प्रदेश उद्यम मैत्री प्रदेश हुने बताउँदै उहाँले लगानीको वातावरण तयार गर्ने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउने बताउनुभयो । 

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले नाफारहित संस्था इन्ट्रा फाउण्डेसनले संसारका १६ देशमा काम गरिरहेको बताउनुभयो । कार्यक्रममा डाक्टर रविन मास्केले पनि बोल्नुभएको थियो ।