• ११ वैशाख २०८२, बिहिबार

राम–सेतु

blog

हिन्दुले यस पुललाई भगवान् रामले लङ्कामा जानका लागि निर्माण गरेको भनेर रामायणमा वर्णित पुलका रूपमा व्याख्या गर्छन् । जस अनुसार रामका सेनामा नल र नील नामका दुई बाँदर थिए ।

भारतको दक्षिणपूर्वी प्रदेश तामिलनाडुको रामेश्वरम र श्रीलङ्काको पूर्वोत्तर क्षेत्रमा रहेको मन्नार द्वीपका बीचमा चुनको ढुङ्गाबाट निर्मित एक शृङ्खला छ । यस चुनको चट्टान वा ढुङ्गाको शृङ्खलालाई भारतमा रामसेतु भनिन्छ भने बाँकी विश्वमा यो ‘एडम्स ब्रिज’ (आदमको पुल) भनेर चिनिन्छ । यस रामसेतुको लम्बाइ ४८ किलोमिटर छ ।

हिन्दुले यस पुललाई भगवान् रामले लङ्कामा जानका लागि निर्माण गरेको भनेर रामायणमा वर्णित पुलका रूपमा व्याख्या गर्छन् । जस अनुसार रामका सेनामा नल र नील नामका दुई बाँदर थिए ।  तिनै दुई बाँदरले ढुङ्गा/पत्थर हालेर यो पुल निर्माण गरेका हुन् । 

संस्कृत महाकाव्य ‘रामायण’ को ‘युद्ध काण्ड’ मा भगवान् रामले लङ्का द्वीपमा पुग्न र रावणबाट आफ्नी पत्नी सीतालाई बचाउन/फिर्ता ल्याउन यस पुलको निर्माण गरेको सन्दर्भ उल्लेख छ । रामायणको लङ्का नै हालको श्रीलङ्का हो र त्यो पुल नै राम–सेतु हो भन्ने हिन्दु मान्यता रहेको छ । 

राम–सेतुलाई लिएर इतिहासकार र पुरातत्वविद्हरू भन्छन्, कोरल र सिलिका पत्थर/ढुङ्गा तातेपछि तिनका बीचमा हावा पस्छ अनि ती हलुका हुन्छन् । हलुका भएपछि ती पत्थर पानीमा तैरिनु स्वाभाविक हो । यस्तै खालका पत्थरलाई प्रयोग गरेर यो पुल निर्माण भएको हो ।

इतिहासकारहरूको दाबी छ, सन् १४८० मा आएको एक आँधीले यस पुललाई छिन्नभिन्न पारिदियो । त्यसपछि यो आवागमनका लागि अनुकूल रहेन । त्यसअघि त मानिसले भारत र श्रीलङ्काबीच ओहोरदोहोर गर्न यही पुल प्रयोग गर्दथे ।

अमेरिकाको ‘साइन्स च्यानल’ ले तथ्यहरूका आधारमा यस पुलमा प्रयोग भएका पत्थर झन्डै सात हजार वर्ष पुराना हुन् भनेको छ । यस च्यानलले यो पुल प्राकृतिक होइन, मानव निर्मित हो भन्ने तथ्य पनि प्रकाशमा ल्याएको छ ।   

Author

ईश्वर पोखरेल