कछुवाहरू पिठ्यूँमा घर बोकेर
घिस्रीपिस्री लम्किरहेका छन् भूगोलभरि
रातले आफ्नै गर्भबाट
ढिकी, जाँतो र ख्याकहरू जन्माइरहेका छन्
सही र गलतको लेखाजोखा राख्न नसकेर
सिरसिर बतास ढुकेर बसेको उन्मादी मनमा
छातीभरि दौडिरहेको छ बादलको अनुराग ।
बिहान राम्ररी नखुलेपछि
शीतले लपक्कै भिज्दै गरेको छ धरा
तुसारोले छपक्कै छोपेको छ बस्ती
हिउँले खाएर चिसिएको मलिन शरीरमा
षड्यन्त्रका सहस्र डामका छापहरू
उषाको रापले पनि उज्यालिन नसकेको सयपत्री झैँ
उन्मादको चहकिलो रङसँग
बादल र घामको कुदाकुद र हावाको मर्याक्कमुरुकले पनि
फाँटमा लहलह सपनाहरू मखमली झैँ नफुलेपछि
फक्रिसकेको आँटमा उमङ्गहरू नचम्केपछि
भत्किन आँटेको एक मुठ्ठी आकाशमा
विश्वासका उष्ण ताप लटपटाउन थालेपछि
प्रीतका फूलमा सपना थुनिए जस्तै
सुत्केरी भएकी छिन् तन्नेरी घाम ।