• २१ वैशाख २०८१, शुक्रबार

उपकुलपतिमा सोह्र जना प्रतिस्पर्धी

blog

काठमाडौँ, वैशाख ८ गते । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा आवेदन दिएकामध्ये अन्तर्वार्ताका लागि १६ जना छनोट भएका छन् । उपकुलपति छनोटका लागि मन्त्रालयले गठन गरेको उपकुलपति छनोट तथा सिफारिस समितिले आवेदकमध्ये १६ जनाको सूची तयार गरेको हो । 

अन्तर्वार्ताका लागि शुभनारायण पाठक, अनिलकुमार पोख्रेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजुकुमार थपलिया र विनोद पराजुली छनोट हुनुभएको छ । त्यसै गरी देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, राजकुमार पोख्रेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहाल अन्तर्वार्ताका लागि छनोट हुनुभएको छ । 

उपकुलपति पदमा १७ जनाको आवेदन परेको थियो । सोही विश्वविद्यालयका पूर्वरजिस्ट्रार सन्जेश कोइरालाले पनि आवेदन दिनुभएको थियो तर उहाँको निधन भएपछि छनोट समितिले १६ जनालाई अन्तर्वार्तामा बोलाएको हो । 

उपकुलपति नियुक्त गर्न वैशाख १२ र १३ गते अन्तर्वार्ता सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । विश्वविद्यालय गत फागुन १८ गतेदेखि उपकुलपतिविहीन छ । उपकुलपति प्राडा. यादवप्रसाद कोइरालाको कार्यकाल सकिएपछि सरकारले गत फागुन २५ गते सोही विश्वविद्यालयका चिकित्साशास्त्र सङ्कायका डिन डा. शैलेसमणि पोखरेललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको थियो ।  

ऐन अनुसार विश्वविद्यालयको कुनै पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म बढीमा तीन महिना उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले तोक्ने व्यवस्था छ । पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति छनोट तथा सिफारिस गर्न गठन भएको समितिले योग्य उम्मेदवारलाई पहिलो पटक गत माघ २३ गते आवेदन आह्वान गरेको थियो । 

तत्कालीन शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको उपकुलपति छनोट तथा सिफारिस समितिले आवेदकको सोचपत्र र कार्ययोजनाको मूल्याङ्कनको काम सकिएर प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिने तयारी भइरहेका बेला सत्ता गठबन्धन हेरफेरपछि प्रक्रिया रोकिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सुमना श्रेष्ठले उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाउनुभएको थियो ।