• २० वैशाख २०८१, बिहिबार

मध्यविन्दु अस्पतालमा १२ घण्टा ओपिडी सेवा

blog

मीना कंडेल

कावासोती, वैशाख ७ गते । नवलपुरको सदरमुकाम कावासोतीस्थित मध्यविन्दु जिल्ला अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन भएको छ । अस्पतालमा यसअघि बहिरङ्ग (ओपिडी) सेवा ८ घण्टा सञ्चालन हुने गरेको थियो । त्यसलाई बढाएर १२ घण्टा सञ्चालनमा आएको हो । 

बिरामीको चापलाई मध्यनजर गर्दै बिहान ७ देखि साँझ ७ बजेसम्म अस्पतालले ओपिडी सेवा सुरु गरेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले औषधी थप गर्नुपर्ने र प्रयोगशालामा परीक्षण गर्नुपर्ने बिरामीलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिएको र अब क्रमशः विशेषज्ञ सेवा पनि विस्तार हुने बताउनुभयो । उहाँले भन्नुभयो, “बिहानै खाली पेटमा परीक्षण गर्नुपर्ने सबै सेवाग्राहीलाई सहज हुनेछ, भिडभाडमा कमी भई सेवाग्राहीले लामो समय लाइनमा बस्नुपर्ने समस्याको अन्त्य हुनेछ ।” यस अस्पतालबाट अन्यत्र अस्पतालमा सिफारिस भई जान चाहने बिरामीका लागि समयमै सिफारिस गर्न सकिने हुँदा जान सहज हुने उहाँको भनाइ छ ।  

ओपिडी सेवा १२ घण्टा सञ्चालन हुने भएपछि सेवाग्राहीको घुइँचो कम हुने र छिटो सेवा प्रदान गर्न सकिने अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो । विशेषगरि मधुमेहका बिरामीले बिहानको समयमा डाक्टरलाई स्वयम भेट गरी चेकजाँच गर्न साथै रिफर भएर अन्य अस्पतालमा जो बिरामीलाई सहज भएको बताउनुभयो ।

दिउँसो १ बजे सम्म मात्र बिरामीले टिकट काट्ने गरेकोमा अहिले चार बजेसम्म टिकट काट्न पाउने उहाँले बताउनुभयो । विशेषज्ञ डाक्टरले नै साँझ ७ बजेसम्म सेवा प्रवाह गर्ने अस्पतालले जनाएको छ । स्वास्थ्य बिमा लागु भएपछि अहिले जिल्ला अस्पतालमा दैनिक दुई सय भन्दा बढी बिरामीले ओपिडी सेवा लिँदै आएका छन् ।