• २० वैशाख २०८१, बिहिबार

चौरासी देशमा निर्यात हुँदै नेपाली ब्रान्डको ‘लाइकी कुरुस’

blog

कपिलवस्तु समाचारदाता 

कपिलवस्तु, वैशाख ७ गते । नेपालमा प्रचलित भनाइ छ ‘सियो नबन्ने देश’ । सियो नबन्ने देशका रूपमा परिचय पाएको नेपालमा उत्पादन भएको निटिङ निडल्स (स्विटर बुन्ने कुरुस) अमेरिका तथा युरोपलगायतका हुँदै विश्वका कुनाकाप्चासम्म पुगेका छन् । 

चर्चित अनलाइन मार्केट अमेजनमा ‘मेड इन नेपाल’ उल्लेख गरेको ‘लाइकी निटिङ निडल्स’ का उत्पादन फाइभ स्टार र्‍याङ्किङमा छन् । चारदेखि १३५ डलर मूल्य राखिएका ती नेपाली उत्पादन प्रयोगकर्ताले रुचाएको प्रतिक्रिया दिएका छन् ।

कपिलवस्तुका युवा मिर्जा रासिद बेगले छ वर्षदेखि उत्पादन गरेको कुरुस विश्व बजारमा प्रवेश पाएको छ । कृष्णनगर नगरपालिका–३ मा दुई करोड रुपियाँको लागतमा खोलेको इम्बार्क इन्टरनेसनल कम्पनीले अहिले वार्षिक २० करोड रुपियाँ बराबरको कुरुस विदेश निर्यात गर्दै आएको छ । 

‘लाइकी’ ब्रान्डको कुरुस ८३ भन्दा बढी देशमा निर्यात हुन्छ । अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापान, चाइना, कोरिया, रसियामा उच्च माग छ । अमेजन र विभिन्न देशका इकमर्स साइटबाट समेत बिक्री गरिएको छ । जाडो हुने देशमा यसको प्रयोग हुन्छ । गल्फ र अफ्रिका तर यसको बिक्री हुँदैन ।

नेपाललगायत दक्षिण एसियाली बजारमा स्टिलको बढी कुरुस प्रयोग हुन्छ । मेटल, ब्रास, नाइलनको डोरी बटम प्रयोग गरी डिजाइनलाई पूर्णता दिइन्छ । काठ र अन्य कच्चा पदार्थ चीन तथा रसियाबाट आयात गरेका छन् । इको फ्रेन्ड्ली र आकर्षकसमेत छ । १२ अलग अलग प्रकारको जोडी र ८२ वटा साइजका कुरुस उत्पादन गरिएको छ । कुरुसबाट स्विटर, मोजा, टोपी, मफलर जस्ता न्यानो कपडा बनाउने गरिन्छ । माछा समाउने जालसमेत कुरुसको सहायताले बुन्न सकिन्छ । 

मिर्जा रासिद बेग एमबिएको पढाइ सकाएर रोजगारीका लागि कतार, जर्मनी र चीन पुग्नुभएको थियो । चीन बस्दा कुरुस उद्योग खोल्ने सोच आएको थियो । चीनमा बसेर व्यवसाय गर्ने अवसर जुरे पनि त्यो छाडेर आफ्नै देशमा व्यवसाय सुरु गर्न नेपाल फर्केको उहाँले बताउनुभयो ।  आठ जना कामदारबाट उत्पादन सुरु गरेको र एक महिनामा विदेश निर्यात गर्न सफल भएको उहाँले बताउनुभयो ।