• १९ चैत २०८२, बिहिबार

ललितपुरको ग्रिन सिटी भिल्लाबाट नौ लाख नगदसहित २१ जुवाडे पक्राउ

blog

ललितपुरको ग्रिन सिटी भिल्ला पार्क ।

ललितपुर, चैत १९ गते । ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीस्थित एक अपार्टमेन्टमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले उनीहरूलाई नौ लाख सात हजार नौ सय ७५ रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो ।

चाँगाथलीस्थित 'ग्रिन सिटी भिल्ला'मा अपार्टमेन्ट भाडामा लिएर कौडा तथा जुवातास खेल्ने र खेलाउने गरेको सूचना पाएपछि प्रहरीले बुधबार राति छापा मारेको थियो । सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय दीपक बोहोराले सञ्चालन गरेको उक्त भिल्लाको दोस्रो तलामा मोहन कृष्ण शाहीले अपार्टमेन्ट भाडामा लिएर जुवा खेलाइरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीले घटनास्थलबाट नगदसँगै ३९ बुक तास र १६ थान कौडासमेत बरामद गरेको छ । पक्राउ परेका २१ जनालाई  प्रहरी वृत्त सातदोबाटोमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।