• २१ वैशाख २०८१, शुक्रबार

स्थानीय उत्पादन र व्यवसायको प्रवर्द्धन गर्दै ‘लहान एक्सपो’

blog

सिरहा, वैशाख छ गते । विभिन्न वनस्पतिका रेसाबाट बनेका आकर्षक ढकी, थाकलबाट बनेका घरायसी सामग्रीले आगन्तुकको ध्यान तानेका छन् । यहाँ सुरु भएको लहान एक्सपोमा राखिएका यी सामग्री सिरहाको लहान नगरपालिका-१ कि पार्वतीकुमारी चौधरीले बनाउनुभएको हो । 

एकसट्ठी वर्षीया चौधरीले स्थानीय कच्चा पदार्थ प्रयोग गरी आफैले बनाएको सामग्री महोत्सवमार्फत बिक्री गरिरहनुभएको छ । जसलाई आगन्तुकले मन पराइदिनुभएको उहाँले सुनाउनुभयो । ‘समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ गत चैत ३० गतेदेखि यहाँ जारी ‘लहान एक्सपोः मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८०’मा स्थानीय उत्पादनमा अवलोकनकर्ताको रुचि देखिएको हो । 

जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाको आयोजनामा जारी महोत्सवकै कारण आफूले उत्पादन गर्दै आएका घरायसी सामग्रीका प्रदर्शन र विक्री गर्न पाएकोमा चौधरी खुसी हुनुहुन्छ । “सोचेजति व्यापार त भएन, तर सुरुआती दिनभन्दा क्रमशः व्यापार वृद्धि भइरहेको, धेरैले मन पराइदिनुभएको छ”, चौधरीले भन्नुभयो, “तीन दशकदेखि यही पेसाले घर खर्च चलेको छ । महोत्सवबाट थप हौसला मिलेको छ ।” महोत्सवमा टाढा-टाढाबाट पनि ग्राहक आएकाले आगामी दिनमा व्यापार अझ बढ्ने उहाँको भनाइ छ । 

आफ्ना उत्पादन सबैलाई देखाउन, बिक्री गर्न तथा प्रचार-प्रसार गर्न सहज भएको उहाँको भनाइ छ । महोत्सवमा विभिन्न रैथाने परिकारको कक्ष राख्नुभएका लहान-८ का जानुका पराजुली र सङ्गीता चौधरीले भने आफूहरूले सोचेभन्दा राम्रो व्यापार भएको बताउनुभयो । उहाँहरूले चामलको पीठो, मासको दाल, बन्दागोभी, सुपको दाल, मुला र लप्सीबाट बनेका विभिन्न परिकारहरू प्याकिङ गरेर राख्नुभएको छ । गाउँघरबाट सङ्कलन गरिएका सामग्रीलाई व्यावसायिक रूप दिई आर्थिक उपार्जनसँग जोडिएको जानुका पराजुलीले सुनाउनुभयो ।

त्यस्तै लप्सी र टमाटरको अचारले पनि ग्राहकको मन जितिरहेको पराजुलीले बताउनुभयो । “मधेसको पहिचान झल्कने रैथाने परिकारहरू उत्पादन गरिरहेका छौँ । हाम्रा उत्पादनलाई ग्राहकहरूले धेरै मन पराइदिनुभएको छ । सोचेभन्दा राम्रो बिक्री भइरहेको छ”, पराजुलीले भन्नुभयो, “अहिले दिनमा औसतमा चार हजारसम्मको व्यापार भइरहेको छ ।” उहाँले महोत्सव सकिएपछि पनि लहानचोकको दक्षिणतर्फ रहेको ‘मटिहर्वा कम्पेक्स’मा सटर भाडामा लिएर ‘कोसेली घर’ सञ्चालन गर्ने योजना रहेको सुनाउनुभयो । महोत्सवमा आयोजकले निःशुल्करुपमा प्रदर्शनी कक्ष उपलब्ध गराएको पनि उहाँले जानकारी दिनुभयो । 

महोत्सवबाट आफ्ना उत्पादन सबैलाई देखाउन, बिक्री गर्न तथा प्रचार-प्रसार गर्न सहज भएको सङ्गीता चौधरीको भनाइ छ । “गाउँमा एउटै ठाउँका मानिसले मात्रै अवलोकन गर्छन् । यहाँ विभिन्न ठाउँबाट मानिसहरु आएर अवलोकन गर्दा खुसी लाग्छ । व्यापार पनि राम्रो भएको छ”, चौधरीले भन्नुभयो, “यस्ता महोत्सवले व्यापारमा  हौसला थपेको छ ।” चौधरीका अनुसार महोत्सवमा आउने आगन्तुक स्थानीय उत्पादनमा लोभिएका छन् ।

स्थानीय मौलिक एवम् रैथाने उत्पादनको प्रवर्द्धनका लागि सम्बन्धित कक्षहरू निः शुल्क उपलब्ध गराइएको आयोजक जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानका अध्यक्ष विकास सारडाले बताउनुभयो । “मधेसको पहिचान झल्कने परम्परागत उत्पादन तथा परिकारको चिनारी दिलाउन र उद्यमीलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले उहाँहरूलाई निः शुल्क कक्ष  उपलब्ध गराइएको हो । जसअन्तर्गत कृषि तथा घरेलुतर्फ २० वटा प्रदर्शनी छन्”, अध्यक्ष सारडाले भन्नुभयो । उहाँले प्याकेजिङमा सुधार गर्दै नेपाली उत्पादनको बजारीकरण गरी व्यावसायिक रूप दिन आवश्यक रहेको बताउनुभयो । 

त्यसै गरी महोत्सवले मौलिक उत्पादन, संस्कृति र मौलिक परिकारहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सहयोगी बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । मधेस प्रदेशस्तरीय महोत्सवमा विराटनगर, वीरगन्ज, काठमाडौँदेखि छिमेकी राष्ट्र भारत र बङ्गलादेशसम्मका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ता सहभागी भएको अध्यक्ष सारडाले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा कूल एक सय २१ वटा प्रदर्शनी कक्ष छन् । 

महोत्सव आयोजना गर्न करिब एक करोड ५० लाख खर्च भएको र महोत्सवभर करिब दुई करोड बराबरको व्यापार हुने अनुमान गरिएको उहाँले बताउनुभयो । “अहिले एक त आर्थिक मन्दीको समय छ  । यस्तो बेलामा व्यवसायीको आत्मबल अभिवृद्धि गर्न र व्यावसायिक क्षेत्रलाई चलायमान बनाउन पनि यो महोत्सव आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “यसबाट व्यापारसँगै स्थानीय उत्पादन प्रवर्द्धन गर्नु मुख्य उद्देश्य हो ।” महोत्सवमा प्रत्येक साँझ विभिन्न कलाकारको प्रस्तुतिसमेत रहने गरेको छ । महोत्सव आगामी वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ । रासस