• १८ वैशाख २०८१, मङ्गलबार

दीपेन्द्रको दुर्लभ कीर्तिमान

blog

सीमित साधनस्रोतका कारण नेपाली खेल क्षेत्र फस्टाउन सकेको छैन । अनेक बाधा र अवरोधले खेल क्षेत्रमा लाग्नेहरू चाहे जसरी उत्साहित हुन सकिरहेका छैनन् । विनियोजित साधनस्रोतको समेत प्रभावकारी प्रयोग हुन सकेको छैन तर पनि नेपालले कतिपय खेलमा अन्तर्राष्ट्रिय स्पर्र्धालाई धेरै अगाडि बढाएको छ । कतिपय खेलाडीले त दुर्लभ कीर्तिमान कायम गर्दै राष्ट्रिय प्रतिष्ठालाई नै उँचो बनाइरहेका छन् । यसै क्रममा नेपाली क्रिकेटले शनिबार महत्वपूर्ण र ऐतिहासिक खुसी दिएको छ । ओमानमा भएको एसिसी प्रिमियर कपमा ओमानविरिुद्ध नेपालका फिनिसर दीपेन्द्रसिंह ऐरीले दुर्लभ पालि खेलेर नेपाली व्रिmकेट समर्थकलाई खुसी हुने अवसर दिनुभएको छ । ऐरीले कतारका मध्यमगतिका बलर कमरान खानले फालेको अन्तिम ओभरमा लगातार छ छक्का प्रहार गर्नुभयो । प्रत्येक नेपालीका निम्ति ऐरीका यो अति उत्कृष्ट कार्य गौरव बनेको छ ।

हुन पनि अन्तर्राष्ट्रिय क्रिकेटमा छ बलमा लगातार छ छक्का विरलै मात्र देख्न पाइन्छ । अहिलेसम्म पाँच खेलाडीले मात्र यस्तो गौरव हासिल गर्नु नै ऐरीको उपलब्धि अति दुर्लभ हो भन्न सकिन्छ । टी–२० मा एक ओभरमा छ छक्का प्रहार गर्ने उहाँ भारतका युवराज सिंह र वेस्ट इन्डिजका किइरोन पालोर्डपछि तेस्रो ब्याट्सम्यान हुनुहुन्छ । एक ओभरमा छ छक्का एकदिवसीय अन्तर्राष्ट्रियमा पनि दुई पटक सम्भव भएका छन् । ओडिआइमा दक्षिण अफ्रिकाका हर्सल गिब्स र अमेरिकाका जसकरन मल्होत्राले एक ओभरमा छ छक्का प्रहार गर्नुभएको थियो । यसैले भन्न सकिन्छ, दीपेन्द्र ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो नाम सुनौला अक्षरले देखाएका छन् ।

निश्चय नै ऐरीको यस दुर्लभ ब्याटिङले विश्व क्रिकेटमा नेपालको छवि अझ उच्च भएको छ । दीपेन्द्रको नाममा सर्वाधिक कम बलमा अन्तर्राष्ट्रिय टी–२० अर्धशतकको अमर विश्व कीर्तिमान पनि छँदै छ । उहाँको सो विश्व कीर्तिमान कहिल्यै तोड्न नसकिने कीर्तिमान हो । होङजाउ एसियाडमा नेपालले मङ्गोलियाविरुद्धको खेलमा मात्र सात विश्वकीर्तिमान बनाएको थियो । यसै गरी एकदिवसीयमा पनि अर्धशतक प्रहार गर्ने कम उमेरका ब्याट्सम्यान, सबभन्दा तेज एक सय विकेट, विपक्षी टिमलाई सबभन्दा न्यून स्कोरमा अलआउट, एक खेलाडीद्वारा १० विकेट र सबभन्दा किफियती बलिङको विश्व कीर्तिमान नेपालकै नाममा रहेको छ । यी सबै कीर्तिमान नेपाल विश्व क्रिकेटमा ठुलो टिमको रूपमा अगाडि आउँदै छ भन्ने सङ्केत हो । अहिले क्रिकेट विज्ञहरूद्वारा विश्व क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाललाई बढीभन्दा बढी सहयोग गर्नुपर्ने आवाज उठ्न थालिसकेको छ । आइसिसीले पनि नेपाललाई ठुलो सम्भावना बोकेको देशको रूपमा लिएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त पछिल्लो उपलब्धिले नेपाली सरकार र घरेलु क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट सङ्घ (क्यान) को पनि जिम्मेवारी बढेको छ । भन्न सकिन्छ, पछिल्ला केही महिना नेपाली क्रिकेटको व्यवस्थापनमा ठुलो सुधार आएको छ । राष्ट्रिय क्रिकेट टिम निकै व्यस्त छ । महिला क्रिकेट टिम पनि ‘एक्सपोज’ भइरहेको छ । क्यानले भौतिक पूर्वाधारलाई पनि प्राथमिकतामा राखेको देखिन्छ । यद्यपि क्यानको जिम्मेवारी अझ बढेको छ । क्यानसमक्ष पनि जुनियर क्रिकेटलाई ध्यान दिएर जग राम्रो बनाउने, क्रिकेटरलाई व्यस्त बनाइराख्न घरेलु प्रतियोगितालाई सक्रिय बनाउने, अन्तर्राष्ट्रिय शृङ्खलामा टिमलाई निरन्तर सहभागी गराइराख्नुपर्ने जिम्मेवारी छन् । व्यापारिक घरानालाई समेत नेपाली क्रिकेटसँग जोड्न सक्नु पर्छ, जसले क्रिकेट र क्रिकेटर व्यावसायिक बनोस् । व्यापार व्यवसायममा प्रवर्धनमा सहयोग पुगोस् अनि खेलाडीले ढुक्कसाथ खेल्न सक्ने वातावरण होस् । खेलाडीको आर्थिक पक्ष बलियो बनाउँदै लैजाँदा त्यसले बढाउने राष्ट्रिय प्रतिष्ठा नै हो ।

 कुनै पनि खेलको विकासका लागि खेलाडीको मात्र त्याग र तपस्या भएर पुग्दैन । सरकार, सरोकारवाला निकाय र प्रायोजकको उचित सम्मिश्रण पनि हुनु पर्छ । यी तीन पक्ष इमानदार भएर लागेमा नेपाल क्रिकेटले हामीलाई अझ गर्विलो उपलब्धि दिने पक्का छ । सरकारले अहिलेसम्म पनि  खेलकुदलाई राम्रो प्राथमिकतामा राखेको छैन । क्रिकेटको सफलतालाई नै हेरेर भए पनि अब सरकारले आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउन नितान्त आवश्यक भइसकेको छ । क्रिकेट जस्तो खेललाई सरकारी स्तरबाट नै योजनाबद्ध ढङ्गले अगाडि बढाउन जरुरी छ । यसै गरी नेपालले अबको लक्ष्य विश्वकप क्रिकेट र टेस्ट मान्यतालाई बनाउनु पर्छ । क्रिकेट मात्र होइन, समग्र खेल क्षेत्रको सुधारका निम्ति दूरगामी नीति, योजना र कार्यक्रम बनाउँदै अगाडि बढ्नु वाञ्छनीय छ ।