• २० वैशाख २०८१, बिहिबार

हर्षको वर्ष बनेर आओस् नयाँ वर्ष

blog

शिशिरको कठ्याङ्ग्रिँदो तुसारो खेपेर 

बाँचेकाहरूका लागि 

वसन्तको लाली बनेर आओस् नयाँ वर्ष 

अहङ्कारको पहाड चढेर 

पश्चात्तापको ओरालो झर्नेहरूका लागि 

ज्ञानको ज्योति बनेर आओस् नयाँ वर्ष 

ऋतुपक्ष काँचुली फेरेर 

छद्मभेषी जीवन जिउनेहरूका लागि 

सफा सन्देश बोकेर आओस् नयाँ वर्ष 

मुखमा राम राम जप्तै 

बगलीमा छुरा बोक्नेहरूका लागि 

हराम बनेर आओस् नयाँ वर्ष 

ममता र सहायताको पवित्र आत्मा बोकी 

शून्यतामै भौँतारिनेहरूका लागि 

सहारा बनेर आओस् नयाँ वर्ष 

अन्याय, अत्याचारको परिधिभित्र 

गुम्सिन बाध्य बनाइएकाहरूका लागि 

स्वतन्त्रताको शङ्खघोष बनेर आओस् नयाँ वर्ष 

माटो छोडेर, मौसम खोज्दै

आकाश रोज्नेहरूका लागि 

स्वदेश बनेर आओस् नयाँ वर्ष 

सपना देख्ने, सङ्घर्ष गर्ने 

र सिर्जनामा रम्नेहरूका लागि 

हर्षको वर्ष बनेर आओस् नयाँ वर्ष २०८१