काठमाडौँ, वैशाख १ गते । नइ प्रकाशनले आज राजधानी काठमाडौँमा देश देशान्तरका बाइस जना प्रतिभालाई २०७९ सालको नइ पुरस्कार प्रदान गरेको छ ।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईँले छ दशकअघिदेखि नारीहरूको स्वास्थ्य सेवा, स्वास्थ्योपचारको जागरण र विकासमा अविरल समर्पित प्रसूति विशेषज्ञ प्रा।डा।सरस्वती पाध्येलाई ‘नइ भावी पुरस्कार’ प्रदान गर्नुभयो । ताम्रपत्र सहित सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
समारोहमा प्रसूति विशेषज्ञ प्रा.डा. सरस्वती पाध्येले नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने भारतीय नेपाली प्राज्ञ नव सापकोटालाई दुई लाख रुपियाँ राशिसहित ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्नुभयो ।
समारोहमा प्रा.डा.सरस्वती पाध्येले नौ जना महानुभावलाई पनि ताम्रपत्र र जनही एक लाख रुपियाँ राशिसहित २०७९ सालका नइ पुरस्कार प्रदान गर्नुभयो ।
डा.पाध्येले भारतीय साहित्यकार स्नेहलता राईलाई ‘नइ गणेश दुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’, देशभक्त चिन्तक डा. भेषबहादुर थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ शिक्षाविद् प्रा. जर्ज जोनलाई नइ भूपाल दुर्गा पुरस्कार, खेलकुदका लागि कुमार मोहनबहादुर शाहीलाई ‘नइ भाजप पुरस्कार’, चित्रकारिताका लागि कृष्णगोपाल रञ्जितलाई ‘नइ यउजा पुरस्कार’, पत्रकार हरिहर विरहीलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, धर्म तथा संस्कृतिमा प्राज्ञिक योगदानका लागि कमल रिजाललाई ‘नइ चन्द्रधन पुरस्कार’, साहित्यकार श्रीओम श्रेष्ठलाई ‘नइ ईश्वर वल्लभ पुरस्कार’ र काठमाडौँ उपत्यकाबाहिर रहेर नेपाली भाषा साहित्यको सिर्जना र संवर्धनमा विशिष्ट योगदान पुर्याएबापत स्याङ्जाका विश्वप्रेम अधिकारीलाई ‘नइ धनरूप पुरस्कार’ प्रदान गर्नुभयो ।
यसै गरी ताम्रपत्रसहित साठी हजार रुपियाँ राशिको ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ हास्यव्यङ्ग्य मार्फत जनचेतना जगाउने शैलेन्द्र सिम्खडा, पचास हजार रुपियाँ राशिको ‘नइ बुलु शर्मा पुरस्कार’ झापाका रीमा पाण्डेलाई र पच्चीस हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख पौरख पुरस्कार’ मिस नेवा नीतु डङ्गोललाई प्रदान गरिएको थियो ।
यसका साथै समारोहमा प्रा।डा।सरस्वती पाध्येले छ जना बाल बालिकालाई दस हजार रुपियाँ राशि र ताम्रपत्रसहित ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्नुभयो । पुरस्कृत हुनेहरूमा बहु आयामिकतर्फ आयुषा लम्साल, साहित्यतर्फ कुञ्जल शुभेच्छु लुइँटेल, चित्रकलातर्फ रेजिना बोहोरा, सङ्गीततर्फ ईशा प्रजापति, नृत्यतर्फ कृष्मा ढुङ्गाना र खेलकुदतर्फ आहाना कार्की हुनुहुन्थ्यो ।
यसै गरी सात हजार रुपियाँ राशि र ताम्रपत्रसहित ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ ऋषिका घिमिरे र ताम्रपत्रसहित पाँच हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ चार वर्षीय श्रेस्मी दाहाललाई प्रदान गरियो ।