• २१ वैशाख २०८१, शुक्रबार

नयाँ वर्षका लागि होटल बुकिङ उत्साहजनक

blog

बनेपा समाचारदाता

बनेपा, चैत ३० गते । नेपाली नयाँ वर्ष २०८१ को आगमनसँगै राजधानी काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्य काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेललगायतका स्थानमा रहेका होटल तथा रिसोर्टका होटलको कोठा बुकिङ फुल भएका छन् । 

धुलिखेल, पनौती, बनेपामा रहेका होटल तथा रिसोर्टले नयाँ वर्षलाई लक्षित गर्दै प्याकेजहरू सार्वजनिक गरेसँग जिल्लामा रहेका अधिकांश होटलका कोठा बुकिङ फुल भएको हो । 

धुलिखेलस्थित ‘होटल सारथि’ का सञ्चालक प्रह्लाद प्याकुरेलले नयाँ वर्ष २०८० लाई स्वागत गर्न शुक्रबार परेको न्यु इयर इभका लागि होटलका ७६ वटै कोठाको बुकिङ फुल भएको बताउनुभयो । 

उहाँले गत वर्षको तुलनामा यस वर्ष नयाँ वर्षका लागि होटलमा कोठाका लागि फोन आउने क्रम बढी रहेको बताउनुभयो । “न्यु इयर इभका लागि कोठाहरूको इन्क्वाइरी आउने क्रम बढी छ तर हामीसँग कोठा खाली छैन,” प्याकुरेलले भन्नुभयो । 

यस्तै नयाँ वर्षको अघिल्लो दिन शुक्रबारदेखि सोमबारसम्म धुलिखेलस्थित ‘हिमालय दृश्य रिसोर्ट’ मा रहेका ४३ वटै कोठा बुकिङ भइसकेका छन् । 

‘मिराबेल रिसोर्ट धुलिखेल’ का व्यवस्थापक दीपक थापाले होटलमा नयाँ वर्षका लागि इन्क्वाइरी आइरहे पनि होटलमा कोठा खाली नरहेको बताउनुभयो । उहाँले नयाँ वर्षको आगमनसँगै बिहीबारदेखि नै होटलका ३२ वटै कोठा बुकिङ भइसकेको बताउनुभयो । 

त्यस्तै बनेपास्थित ‘आगन्तुक रिसोर्ट’ ले पनि नयाँ वर्षका लागि रिसोर्टमा रहेका सबै कोठाको बुकिङ पूरा भइसकेको जनाएको छ । जिल्लाको बल्थलीमा रहेको ‘बल्थली माउन्टेन रिसोर्ट’ ले नयाँ वर्षका लागि शुक्रबार होटलका २४ वटै कोठाको बुकिङ भइसकेको जनाएको छ ।