• २० वैशाख २०८१, बिहिबार

नयाँ वर्षको अवसरमा पर्यटकले होमस्टे भरिभराउ

blog

अमलटारी होमस्टेमा आएका पर्यटकलाई स्वागत गर्दै स्थानीय महिला । तिस्वरः मीना कंडेल

मीना कंडेल

कावासोती, चैत २९ गते । नयाँ वर्षको अवसरमा स्थानीय होमस्टे पर्यटकहरूले भरिभराउ भएको छ । विगत वर्षझैँ यो वर्ष पनि नवलपुरका होमस्टेमा पर्यटकको चाप बढेको देखिएको छ ।

मानिसमा एकातिर नयाँ वर्षको छुट्टै उमङ्ग र हर्ष छ भने अर्कोतिर पर्यटनका लागि वसन्त ऋतु उपयुक्त मानिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकले होमस्टे भरिभराउ भएको हो ।

नवलपुरको पर्यटकीय क्षेत्रमा यतिखेर आन्तरिक तथा विदेशी पर्यटकको भीड लागेको छ । यो समय वर्षको अन्तिम बिदा मनाउने, परीक्षा सकेर बसेका विद्यार्थी समेत घुमघाममा जाने भएकाले होमस्टेमा चाप बढेको स्थानीयको बुझाइ छ । 

अमलटारी मध्यवर्ती होमस्टे व्यवस्थापन समितिका अध्यक्ष प्रेमशङ्कर मर्दनिया थारुले जिल्लाको अमलटारी मध्यवर्ती होमस्टेमा पछिल्लो समय परिवार, साथीभाइबिच रमाइलो गरी नयाँ वर्ष मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकमा वृद्धि भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “होमस्टे सञ्चालन भएको पाँच वर्षको अवधिमा होमस्टेमा हालसम्म एक लाख दश हजार पर्यटकले भ्रमण गरेका छन् । थारु समुदायद्वारा सञ्चालित होमस्टेमा दैनिक एकसय पर्यटक जङ्गल सफारीका लागि आउनेगरेका छन् । चैत महिनामा मात्र तीन हजार पर्यटक आइसकेका छन् ।” 

नयाँ वर्षको अवसरमा होमस्टेमा घुइँचो हुनेगरेको उहाँको भनाइ छ । नेपालकै उत्कृष्ट मानिने अमलटारी होमस्टे अध्ययन तथा अवलोकनको गन्तव्य समेत बनेको उहाँले चर्चा गर्नुभयो । 

चिलाह होमस्टे व्यवस्थापन समितिका अध्यक्ष धनिराम गुरौले होमस्टेमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सामुदायिक वनमा हात्तीमार्फत वन्यजन्तुको अवलोकन तथा डुङ्गा सयर गराउने गरिएको बताउनुभयो । दिउँसो वन्यजन्तुको अवलोकनपछि पर्यटकलाई साँझ थारु र बोटे जातिको सांस्कृतिक नाच देखाउने गरिएको छ । 

होटल व्यवसायी नवलपुरका अध्यक्ष सन्तोष रानाले मुख्य पर्यटकीय मौसममा विदेशी पर्यटकको सङ्ख्या पनि बढेको बताउनुभयो । अध्यक्ष रानाले भन्नुभयो, “अहिले विद्यार्थीको परीक्षा सकिएको र कर्मचारीको बिदा कटाउने र नयाँ वर्ष पनि परेकाले प्रमुख पर्यटकीय क्षेत्रमा आन्तरिक तथा विदेशी पर्यटक बढेका छन् ।”