• २४ वैशाख २०८१, सोमबार

नेपालगन्जमा क्षयरोगी पहिचान अभियान सञ्चालन

blog

क्षयरोगी खोजी अभियान सञ्चालन गर्ने बारे जानकारी दिन आयोजित कार्यक्रम । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत २९ गते । नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्र लुप्त अवस्थामा रहेका क्षयरोगीको पहिचान गर्न अभियान सञ्चालन गर्ने भएको छ ।

उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले सो अभियान अन्तर्गत वडा वडामा क्षयरोगी पहिचान गर्न स्वयंसेवक खटाइने बताउनुभयो । उहाँले सो अभियान उपमहानगरका २३ वटै वडामा सञ्चालन गरेर हरेक वडामा एक एक जना स्वयंसेवक छनौट गरेर बस्ती बस्तीमा परिचालन गरिने बताउनुभयो ।

नेपालगन्जलाई क्षयरोगमुक्त पालिका घोषणा गर्नका लागि आयोजना गरिएको अभिमुखीकरण तथा पालिकास्तरीय समिति गठन कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख चन्दले यसपछि वडा वडामा वडास्तरीय समिति बनाएर क्षयरोगमुक्त घोषणा अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । 

उहाँले नेपालगन्जमा क्षयरोग अन्त्य गर्ने लक्ष्य हासिल गर्न समुदायमा रहेका सम्भावित क्षयरोगका बिरामीहरूको द्रुत पहिचान, रोकथाम, निदान र उपचारको लागि क्षयरोगमुक्त पालिका पहल कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । 

बाँकेमा चालु आर्थिक वर्षमा मात्र ५३९ क्षयरोगी थपिएका छन् । जसमा नेपालगन्ज उपमहानगरपालिकाका १८० जना रहेका छन् । नेपालगन्जमा ४०४ जना क्षयरोगी रहेको अनुमान गरिए पनि १८० मात्र फेला परेका हुन् । 

स्वास्थ्य महाशाखा प्रमुख चन्दका अनुसार हालसम्म ४४ प्रतिशत बिरामी भेटिएको र ५६ प्रतिशत बिरामी खोज्न बाँकी रहकोले यो खोजी अभियान चलाउन थालिएको हो । गत वर्ष नेपालगन्ज उपमहानगरपालिकामा ३६१ जना क्षयरोगी फेला परेका थिए । 

कार्यक्रममा नेपालगन्जका मेयर प्रशान्त विष्टले क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ, अन्यथा यो घातक रोग हो भन्ने बुझाई सबैमा हुनुपर्नेमा जोड दिनुभयो । 

सो कार्यक्रममा उपमहानगरका उपमेयर कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो । 

नेपालबाट सन् २०५० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य रहेको छ भने सन् २०३५ सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य निर्धारण गरिएको छ ।