शिवशङ्कर मिश्र
बारा, चैत्र २९ गते । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने बिहीबार बाराको गढीमाई मन्दिरमा पूजापाठ गर्नु भएको छ धनुषाको जनकपुरधामस्थित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रममा सहभागी भई फिर्ता आउने क्रममा बिहीबार बिहान गढीमाताको विधिवत् पूजापाठ गर्नु भएको मूल पुजारी मङ्गल चौधरीले जानकारी दिनुभयो ।
गृहमन्त्री लामिछानेको आजै अर्को कार्यक्रम वीरगन्जस्थित होटेल कलार्क रिसोर्टमा मधेश प्रदेशको सुरक्षा तथा छिमेकी (मित्र) राष्ट्र भारतमा हुन लागेको २०२४ को लोकसभा चुनावमा दुई मुलुकबिचको सिमानाकाको अवस्थाबारे विशेष जानकारी लिन उच्च सुरक्षा समितिको बैठक बोलाइएको बाराका प्रहरी प्रवक्ता दघिराम न्यौपानेले बताउनुभयो ।
सो बैठकमा मधेश प्रदेशका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रहरी प्रमुख, सेना र राष्ट्रिय अनुसन्धानका उच्च सुरक्षा पदाधिकारीलगायतका सहभागिता रहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो ।
गत एक सातादेखि मधेश प्रदेशका विभिन्न क्षेत्र तथा बारा, पर्सा, रौतहटका जिल्लाहरूमा अर्थमन्त्री, मन्त्री र सशस्त्र प्रहरीका महानिरीक्षकलगायतका प्रमुखहरूको आवागमन विशेष रूपमा हुने गरेको छ ।