जनार्जन खत्री
सर्लाही, चैत २८ गते । सर्लाहीको चुरेभेगस्थित हरिवन नगरपालिका–१, कोठीखोलामा ‘ड्याम’ निर्माण कार्य सुरु भएको छ ।
राष्ट्रपति चुरे तराई संरक्षण समिति कार्यक्रम कार्यान्वयन इकाई जनकपुरको सहयोगमा बगेर खेरजाने कोठीखोलाको पानीलाई जम्मा गरेर स्थानीय कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यसहित ड्याम निर्माण कार्य थालिएको हो । ड्याम निर्माण सम्पन्न भएपछि ठुलो जलाशय बन्ने सम्भावना रहेको कार्यान्वयन इकाई जनकपुरका प्राविधिक कृष्ण साहले बताउनुभयो ।
४५ मिटर लामो ‘आरसीसी हार्वेष्टिङ ड्याम’ र ३० मिटरको ‘अर्देन ड्याम’ निर्माण हुने अनुमान गरिएको र काम गर्दै जाँदा केही घटबढ पनि हुन सक्ने प्राविधिक साहले बताउनुभएको छ । अनुमानित ३९ लाख रुपियाँ लागतमा २०८० असार ६ गते सम्पन्न गर्ने गरी उपभोक्ता समिति मार्फत सुरु भएको योजनाको नाम ‘रणअफ हार्वेष्टिङ ड्याम’ कोठिखोला राखिएको छ ।
हरिवन नगरपालिका १ का वडाध्यक्ष टम बहादुर घिसिङले निरन्तरको पहलपछि राष्ट्रपति चुरे तराई संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई जनकपुरले उक्त योजना उपलब्ध गराएको बताउनुभयो । एकवर्ष अघि कोठीखोलाको चुरेडाँडामै बसोबास गरिरहेका ४५ घरधुरीलाई खानेपानीको सुविधा उपलब्ध गराउन सफल भएपछि अब उनीहरूको खेतमा सिँचाइको सुविधा समेत पुर्याउने योजना अघि बढाइएको वडाध्यक्ष घिसिङले बताउनुभएको छ ।
ड्याम निर्माण सम्पन्न भएपछि बन्ने ठुलो जलाशयबाट स्थानीयको खेतमा सिँचाइ सुविधासँगै स्विमिङ, माछापालनलगायत अन्य योजनाहरू पनि अगाडि बढाउन सकिन्छ कि भनेर सोचिरहेको वडाध्यक्ष घिसिङको भनाइ छ । ड्याम निर्माण कार्यको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी, उपप्रमुख हरिमाया घलान, वडाध्यक्षलगायत पुगेर अवलोकन गर्नुभएको छ ।