• १२ साउन २०८१, शनिबार

मूर्ति बनाउन व्यस्त कलाकार वाङ्दी

blog

शिवा तामाङ

काठमाडौं, वैशाख ४ गते । भुटानका कलाकार उग्येन वाङ्दीको नेतृत्वमा काभ्रे जिल्ला  टेकानपुरमा गुम्बाका लागि मूर्ति निर्माण भइरहेको छ । गत फागुन २० गतेदेखि कलाकार वाङ्दीको टोली उग्येन पेज्युङ डुब्देलिङ गुम्बामा राखिने पाँच मुख्य मूर्ति बनाउन व्यस्त हुनुहुन्छ ।  

विगत एक दशकदेखि नेपाललाई कर्मभूमि बनाएर मूर्ति निर्माण कार्यमै पारङ्गत कलाकार वाङ्दीको टोलीले  गुरु रिन्पोचे (सात फिट), गुरु ढाक्पो (पाँच फिट), सिङ्दोङमा (पाँच फिट) खान्डो हिसे छ्योजेल र मेन्दारावा (चार÷चार फिट)का मूर्ति बनाउनमा एक महिनादेखि निरन्तर  खटिरहनुभएको  छ ।  

गुम्बा निर्माणका लागि स्थानीय च्याम्पु पाख्रिन र गुञ्जमान दोङले दुई रोपनी १५ आना जग्गा दान दिनुभएको छ ।  गतवर्ष २०७७ पुस २० देखि निर्माण कार्य सुरु गरेर गुम्बाका लागि मुख्य भवन निर्माण सम्पन्न भएपछि भुटानका कलाकारको टोली उक्त  मूर्ति बनाउन नेपाल आउनुभएको थियो । उग्येन पेज्युङ डुब्देलिङ गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष जगतमान लामा दोङका अनुसार २०७८ चैत ३० गतेसम्ममा  गुम्बा निर्माण अभियानलाई स्वदेश तथा विदेशमा बस्ने श्रद्धालु, भक्तजनलगायत सहयोगीले ८३ लाख ५४ हजार ५०९ रुपियाँ चन्दा सहयोग गर्नुभएको छ । 

त्यसमध्ये भवन बनाउने र मूर्ति, बुट्टा बनाउने क्रममा खर्च गरी छ सय ४५ रुपियाँ मात्र बाँकी रहेको जानकारी दिँदै अध्यक्ष लामाले संस्थागतभन्दा पनि व्यक्तिगत सहयोगको भरमा हालसम्म काम भइरहेको बताउनुभयो । उहाँले नगदबाहेक माम्तीस्थित तत्कालीन सङ्घाई कन्स्ट्रक्सनबाट १५ टिप्पर रोडा गिट्टीसमेत गुम्बाका लागि निःशुल्क प्राप्त भएको बताउनुभयो ।  

अहिले (कु) मूर्ति निर्माणका लागि लाग्ने खर्चमध्ये आंशिक मात्र भुक्तानी भएको छ भने बुट्टा, रङ लगाउनेलगायतका धेरै काम हुन बाँकी रहेकाले अझै सहयोगको आवश्यकता र अपेक्षा रहेको  समितिले जनाएको छ ।