• ८ वैशाख २०८३, मङ्गलबार

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव’ हुने

blog

प्रतिष्ठानले मङ्गलबार काठमाडौँमा गरेको पत्रकार सम्मेलन ।

काठमाडौँ, वैशाख ८ गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले रोल्पाको थवाङ गाउँपालिकामा आगामी वैशाख १९ र २० गते ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ आयोजना गर्ने भएको छ ।

 प्रतिष्ठानले मङ्गलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै  रोल्पा कला साहित्य प्रतिष्ठानसँगको सहकार्यमा प्रगतिशील सङ्गीत उत्सव–२०८३ आयोजना गरिने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानकी सदस्य सचिव एवं कार्यक्रम संयोजक कुश्मा महराले गीत सङ्गीतमार्फत सामाजिक चेतना अभिवृद्धि, सांस्कृतिक एकता सुदृढीकरण तथा सिर्जनशील अभिव्यक्तिलाई राष्ट्रिय पहिचानसँग जोड्ने उद्देश्यसहित उत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।

प्रगतिशील सङ्गीत उत्सव सांस्कृतिक दृष्टिले महत्वपूर्ण राष्ट्रिय कार्यक्रम रहेको पनि उहाँको भनाइ छ । दुई दिनसम्म चल्ने उत्सवको पहिलो दिन उद्घाटनसँगै प्रगतिशील कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहनेछ भने दोस्रो दिन संवाद, अन्तरक्रिया, कार्यशाला र प्यानल छलफल आयोजना गरिने महराले बताउनुभयो । 

उहाँकाअनुसार उत्सवमा देशभरका प्रगतिशील कलाकार, सांस्कृतिक समूह, शोधकर्ता, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहनेछ । 

उहाँले ऐतिहासिक र सामाजिक दृष्टिले महत्वपूर्ण मानिएको रोल्पाको थवाङमा उत्सव आयोजना गर्दा स्थानीय सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न टेवा पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

उत्सवले पर्यटन प्रवर्द्घन र प्रगतिशील सङ्गीतमार्फत सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने आयोजकको विश्वास छ ।