• २० वैशाख २०८१, बिहिबार

चलचित्र वर्ष समीक्षा: चलचित्र धेरै, दर्शक कम

blog

काठमाडौँ, चैत २९ गते । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८० सन्तोषजनक देखिएन । वर्षको सुरुमा अभिनेता दयाहाङ राई अभिनीत चलचित्र ‘बिहे पास’ र ‘जारी’ प्रदर्शन भयो भने चैत ३० गते राई अभिनीत चलचित्र ‘डिग्री माइला’ प्रदर्शनसँगै यो वर्षको अन्त्य हुँदै छ । यो वर्ष ‘जारी’ सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो भने बिहे पास, हात्तीछाप, नीरफूल, दिमाग खराब, नाङ्गो गाउँ, परदेशी–२, पशुपति प्रसाद–२ भस्मे डन, रङ्गोली, अगस्त्य, गोर्खा वारियर जस्ता चलचित्रलाई लगानी उठाउन हम्मे हम्मे पर्‍यो । 

विभिन्न कारणले प्रदर्शन मिति धकेलिएको चलचित्र ‘प्रसाद २’ वैशाखमा प्रदर्शन भयो । चलचित्रलाई निर्माण पक्षले अघिल्लो चलचित्र ‘प्रसाद’ भन्दा जतिसुकै बेजोड भने पनि चलचित्रले दशर्कको खासै साथ पाएन । सुदर्शन थापा निर्देशित चलचित्रको व्यापार अपेक्षा अनुसार हुन सकेन । 

रेनशा बान्तवा राई निर्देशित चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ ले राम्रो दर्शक पाउने अपेक्षा गरे पनि हलमा चलचित्र हेर्ने दर्शकको भिड खासै देखिएन । अघिल्लो चलचित्र इन्टु मिन्टु लन्डनमा जस्तो यस चलचित्रले खासै व्यापार गरेन । यो वर्ष नायिका तथा निर्देशक झरना थापालाई पनि चलचित्रबाट ठुलो धक्का लाग्यो । प्रचारप्रसारले चलचित्र राम्रो चल्छ भनेर छाप बसाल्नुभएकी थापाले यो वर्ष असफलता भोग्नु प¥यो । उहाँ निर्देशित चलचित्र ‘एक भगवत् र एक गीता’ को व्यापारले निर्माण पक्षलाई ठुलो झट्का लाग्यो । धीरज मगर, सुहाना थापा र विपिन कार्की जस्ता कलाकारलाई पनि दर्शकले पत्याएनन् । 

यस्तै दयाहाङ राई, उपासना सिंह ठकुरी, सौगात मल्ल जस्ता कलाकारले अभिनय गरेको ‘हात्तीछाप’ ले दर्शकमा केही छाप छोड्न सकेन । वर्षको अन्त्यतिर प्रदर्शनमा आएको चलचित्र ‘अगस्त्य : च्याप्टर १’ ले दर्शक तान्न सफल भयो । अब दर्शक यसै चलचित्रको अर्को भागको प्रतीक्षामा छन् ।  

चलचित्र उपहार, रङ्गोलीको औसत व्यापारले पनि चलचित्रकर्मीलाई धेरै पाठ सिकाएको छ । चैत २३ मा प्रदर्शनमा आएको शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्री बहादुर’ प्रचार अनुसार चलचित्रको नाम सुनिएन अहिले चलचित्रको अत्तोपत्तो छैन । चलचित्र चित्रा, बुलाकी, कैदीको पत्र, हलकारा, नाइ नभन्नु ल–६, हुक्का, जय हो, ऐँचो पैँचो, ए साथी सुन, जिग्री, दुई कदम, जस्ता चलचित्रले खासै पनि यो वर्ष खासै व्यापार गरेनन् । त्यसै गरी लुङ्गा, कौसिद, परस्त्री, बगान, अदृश्य, गणपति जस्ता चलचित्र पनि रिलिज भए तर दर्शकको साथ पाएनन् ।