• २१ वैशाख २०८१, शुक्रबार

प्याजसहित बलेरो नियन्त्रणमा

blog

सशस्त्र प्रहरीले बीपी राजमार्गबाट नियन्त्रणमा लिएको तस्करीका प्याजसहित बलेरो । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दीबास, चैत २८ गते ।
सशस्त्र प्रहरीले बर्दीबास ३ बीपी राजमार्गबाट भारतीय प्याजसहित बलेरो पिकअप नियन्त्रणमा लिएको छ । बर्दीबासको गौरीडाँडास्थित सशस्त्रको चेक प्वाइन्ट टोलीले ४३ बोरा प्याजसहित ना १ ज ७९०३ नंको बलेरो पिकअप नियन्त्रणमा लिएको हो ।

महोत्तरीको गौशालाबाट सिन्धुलीतर्फ जाँदै गरेको उक्त पिकअपलाई बुधबार बिहान  ७ बजे शङ्का लागी चेकजाँच गर्दा चालकले फरक विवरणको पुरानो बिल बिजक देखाएपछि प्याजसहितको बलेरो नियन्त्रणमा लिएको सशस्त्रले जनाएको छ । 

महोत्तरीको जलसागरस्थित सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वार्टरका एसपी विनोद केसीका अनुसार चालकले जनकपुरका आकाश आलुप्याज भण्डारको नाममा जलेश्वर भन्सारबाट चैत २२ गते जारी भएको बिल बिजकमा आयातित प्याजको परिमाण आठ हजार केजी उल्लेख छ । बरामद प्याजको तौल भने दुई हजार ५८ किलो मात्र छ ।

आकाश आलुप्याज भण्डारको भ्याटमा उल्लेख गरिएको गाडी र बरामद गाडीको नम्बर पनि फरक पाइएपछि छानबिनका लागि नियन्त्रणमा लिएको सशस्त्र एसपी केसीले जनाउनु भयो ।

उक्त आलुप्याज भण्डारको कारोवारको विवरण सङ्कलनका साथै शङ्कास्पद गतिविधिबारे अनुसन्धान भइरहेको केसीले जनाउनुभयो । सशस्त्रले ११ लाख ८२ हजार ३२० रुपियाँ प्रतिवेदन मूल्यसहित बरामद प्याजसहितको बलेरो जलेश्वर भन्सार बुझाएकोे छ ।