• ९ जेठ २०८१, बुधबार

बढ्दै पर्यटक

सुत्‍न छाड्‍यो 'ठमेल'

blog

तस्बिर: मनाेजरत्न शाही

छेटु शेर्पा

काठमाडौं, वैशाख २ गते। कोरोना महामारीले दुई वर्षदेखि सुनसान जस्तै बनेको मुख्य पर्यटकीय बजार ठमेलमा चहलपहल सुरु भएको छ। दिउँसो मात्र केही चहलपहल हुने ठमेल नयाँ वर्षदेखि २४ घण्टा खुल्न थालेको हाे । 

स्प्रीङ सिजन (बसन्त मौसम) सुरुभएसँगै पर्यटक आगमनको दर वृद्धि भएपछि प्रमुख बजार ठमेल लगायतमा चहलपहल बढ्दै गएको व्यवसायीले बताएका छन्। चकमन्न रहेको ठमेल दिउँसो मात्र नभएर रात्री बजारसमेत भरिभरा हुन थालेको हाे। हिमाल आरोहणको मुख्य सिजन मानिने बसन्त मौसममा ६८ देशबाट आरोही नेपाल आएको पर्यटन विभागको तथ्याङ्क छ। पर्वतारोहीसँगै पदयात्राका लागि समेत विभिन्न देशबाट पर्यटक भित्रिएको पर्यटन व्यवसायी टीकाराम गुरुङले जानकारी दिनुभयो। ठमेल बजारको अवस्था हेर्दा पर्यटन क्षेत्र पुरानै गतिमा फर्किएको भन्न सकिने अवस्था आएको  उहाँकाे भनाइ छ। 


अध्यागमन विभागको तथ्याङ्क अनुसार अप्रिल ९ तारिखमा एकै दिन दुई हजार ५९३ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यो तथ्याङ्क कोरोना महामारीपछिको सबैभन्दा धेरै हो। मार्च महिनामा मात्र ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्क  छ। नेपालमा पर्यटक आगमनको यो तथ्याङ्क गत वर्षको तुलनामा १८०.४७ प्रतिशतले बढी हो। गतवर्षको मार्च महिनामा १४ हजार ९७७ जना मात्र पर्यटन नेपाल भित्रिएका थिए। पर्यटकको सङ्ख्यामा वृद्धिभएसँगै मुख्य पर्यटकीय क्षेत्र काठमाडौंको ठमेल, दरबारमार्ग, कपिलवस्तुको लुम्बिनी, चितवनको सौराहा, कास्कीको पोखरालगायतका स्थानका होटल भरिभराउ भएको व्यवसायीले बताएका छन्। 

विभागको तथ्याङ्कनुसार मार्च महिनामा नेपाल भित्रिने पर्यटकमध्ये सबैभन्दा धेरै सार्क मुलुकबाट ४२.०४ प्रतिशत छ भने यूरोपबाट २६.८५ प्रतिशत र एसियाबाट ४.१८ प्रतिशत रहेका छन्। धेरै पर्यटक आउने देशमध्ये यूकेबाट ९.५९ प्रतिशत चार हजार २९ जना, अमेरिकाबाट ११.६६ प्रतिशत अर्थात् चार हजार ८९६ जना, अष्ट्रेलिया ३.४४ प्रतिशत एक हजार ४४४ जना, जर्मनबाट ४.३३ प्रतिशत एक हजार ११७ जना र फ्रान्सबाट ३.८७ प्रतिशत एक हजार ६२५ रहेका छन्। सन् २०२० को मार्च महिनामा भने ४२ हजार ७७६ पर्यटक भ्रमणका लागि आएका थिए।