• २० वैशाख २०८१, बिहिबार

कृषि, पर्यटन र उद्योगलाई प्राथमिकता दिनुपर्छ : मन्त्री लेखी

blog

उद्योगी व्यवसायीसँग छलफल गर्दै गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी। तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, चैत २७ गते। मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले कृषि, पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अगाडि बढ्नुपर्ने बताउनुभएको छ। मधेश प्रदेशको समृद्धि , विकास तथा उद्योग वाणिज्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि मंगलबार मन्त्रालयमै उद्योगी व्यापारीसँग भएको छलफलको क्रममा उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले मधेश प्रदेश सरकारले हरेक क्षेत्रलाई प्राथमिकता राखेर सुझाव सल्लाह लिने गरेको र सोही अनुसार अगामी दिनमा कार्ययोजना तयार गरेर अघि बढ्ने बताउनुभयो। उहाँले छलफलको क्रममा उठेका विषयवस्तुमध्ये तत्काल समाधान गर्न सकिने विषयलाई सरकारले तत्कालै समाधान गर्ने र तत्कालन गर्न नसकिने विषयलाई दीर्घकालीन योजना बनाएर कामलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

छलफलको क्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले मधेश प्रदेशको समृद्धिको अधार कृषि, पर्यटन र उद्योग क्षेत्र भनिए पनि विगतमा प्रदेश सरकारले सो अनुरुप काम गर्न नसकेको धारणा राख्नुभयो। 

उत्पादन बढाउनका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरी वैज्ञानिक प्रणालीमा अधारित भएर कामकाजलाई अगाडि बढाउनका लागि प्रदेश सरकारकारलाई आग्रह गर्नुभयो। जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमन साहले मधेश प्रदेशमा लगानी गर्न चाहने लगानीकर्ताका लागि सुरक्षा सहितको वातावरण तयार हुनुपर्ने बताउनुभयो। 

उद्योग वाणिज्य संघ नेपालका पूर्व केन्द्रीय सदस्य निर्मल चौधरीले सप्तरीदेखि पर्सासम्म रहेको धार्मिक कोरीडोरलाई प्रदेश सरकारले पर्यटकीय क्षेत्रको रुपमा विकास गरी सञ्चार क्षेत्रको माध्यमले विश्वलाई चिनाउनुपर्ने धारणा राख्नुभयो। 

उहाँले जानकीको भूमि पुनौराधाम हो भन्ने किसिमलेले भारत सरकारले त्यो क्षेत्रलाई विकास गर्न खोजेको भन्दै हामी यस विषयमा गम्भीर हुनुपर्नेमा जोड दिनुभयो। उहाँले जानकी मन्दिरलाई छिट्टै ट्रष्टमा लैजानका लागि प्रदेश सरकारले पहल गर्नुपर्ने भन्दै  जनकपुरधाम आउने पर्यटकको लागि  प्याकेजको व्यवस्थापन हुनुपर्ने धारणा राख्नुभयो। छलफलमा मधेश प्रदेश सरकारका मुख्यन्यायधिवक्ता वीरेन्द्रकुमार ठाकुर सहितका व्यक्ति रहेको सहभागिता रहेको थियो।