• ९ मंसिर २०८१, आइतबार

पुराना कागजपत्रको मूल्य

blog

पठनपाठनको दृष्टिले इतिहास अहिले हेयको विषय हुन पुगेको छ । १२ कक्षा पढ्ने पुस्ताले इतिहास विषय लिएर पढेको पाइँदैन । स्नातक र स्नातकोत्तर तहमा पनि विद्यार्थीको सङ्ख्या अति न्यून हुन पुगेको छ । रोजगारीमुखी शिक्षा नभएको भन्दै मानविकी तथा सामाजिकशास्त्र सङ्कायमै विद्यार्थी घट्दै जाँदा इतिहास विषय यसबाट अछुतो रहन सकेन तर इतिहास पठनको दृष्टिले रोचक र ज्ञानको दृष्टिले अत्यन्तै महत्वपूर्ण विषय हो । यसबारे स्पष्ट रूपमा बुझाउन नसक्दा र इतिहास विषय अध्ययन गर्ने विद्यार्थीका लागि रोजगारी सिर्जना गर्न नसक्दा अहिले इतिहास विषय हेयको अवस्थामा गुज्रिरहेछ । राष्ट्रिय गौरवको कसीमा यसलाई किमार्थ शुभ सङ्केत मान्न सकिन्न ।

इतिहास विषय अध्ययन गर्ने विद्यार्थीमा कमी आयो भन्दैमा यो विषय र क्षेत्रको संरक्षणका लागि पहलकदमी नगरी बस्न पनि किमार्थ मिल्दैन । विगतको महìवपूर्ण विरासतको रूपमा रहेको इतिहासको खोजी, अध्ययन, व्याख्या र त्यसको प्रकाशनमार्फत हामी यो विषय वा क्षेत्रको सम्मान र संरक्षण गर्न सक्छौँ । यसका लागि व्यक्तिगत तहबाट पनि योगदान गर्न सकिन्छ । किनकि वर्तमान जे छ, त्यो विगतको परिणाम हो । अनि वर्तमान जस्तो किसिमले गुज्रिरहेछ, त्यसैले आगत पनि निर्धारण गर्छ । वर्तमानको लेखाजोखा गर्दै भविष्यको रेखा कोर्नका लागि पनि विगतको पाना पल्टाउनै पर्छ । त्यसैले इतिहास विषय महत्वपूर्ण छ ।

हामीकहाँ भएका पुराना कागजपत्रहरू घरमा राख्न ठाउँ भएन, त्यसको औचित्य सकियो, त्यो अब कसिङ्गर हुन पुग्यो भनेर फ्याँकी हाल्न हुँदैन । एक पटक त्यसलाई राम्ररी पढेर महìवपूर्ण लिखतहरू रहेछन् भने तिनीहरूलाई सुरक्षित राख्न पर्छ । किनकि ती कागजपत्र इतिहासका महìवपूर्ण स्रोत हुन सक्छन् । त्यसैले आफ्नो घरमा रहेका पुराना लिखतहरूलाई छाँट्नुअघि सानोतिनो मात्रै होसियारी अपनाउन सके ऐतिहासिक स्रोतहरूको संरक्षणमा ठुलो योगदान हुन सक्छ । केही नेपाली विद्वान्ले कसिङ्गर भनी फ्याँक्न लागिएका मात्रै होइन, गल्लीमा फ्याँकिसकिएका कागजपत्रलाई बटुलेर इतिहासको संरक्षणमा कति ठुलो योगदान गरेका छन् भन्ने केही उदाहरण यहाँ प्रस्तुत गरिन्छ ।

गल्लीमा फ्याँकिएको कसिङ्गर

नेपाली विद्वान्मध्ये नयराज पन्तको स्थान विशिष्ट कोटीको छ । उहाँले गुरुकुलीय पद्धतिबाट सञ्चालन गरेको पाठशाला र त्यहाँबाट उत्पादन भएका विद्यार्थीले इतिहास संशोधन मण्डल सञ्चालन गरेर नेपाली इतिहासको अनुसन्धान र लेखनमा गरेको योगदान सामान्य छैन । उनीहरूले प्राचीन शिलालेख, भोजपत्र, ताम्रपत्र, लालमोहर आदि पढेर त्यसको ऐतिहासिक व्याख्यासमेत गरी इतिहासको क्षेत्रमा नेपालीजनको आँखा खुलाइदिएका छन् । नयराजका विद्यार्थी मात्रै होइन, स्वयम् उहाँले इतिहासको खोजीमा गल्लीमा फोहोरमैला थुपार्ने ठाउँमा फ्याँकिएका कागजपत्र मात्रै होइन, विष्णुमतीमा बग्दै आएको कागजसमेत सङ्कलन गरेर ग्रन्थ नै प्रकाशन गरेको रोचक घटना पनि पाइन्छ । 

यसबारेमा नयराज पन्तले ‘गल्लीमा फ्याँकिएको कसिङ्गर’ शीर्षकमा आफ्नो अनुभव ‘पूर्णिमा’ को पूर्णाङ्क १४ (२०२४ साउन–असोज पृ.१७०) मा व्यक्त गर्नुभएको छ । उहाँका अनुसार २००९ सालमा उहाँको कोठा अगाडिको गल्लीमा केही हस्तलिखित पुस्तकहरू पाइएका थिए । त्यहाँ फालिएका पुस्तकको सूची तथा फालिएका नेपाली पुस्तकलाई ‘गल्लीमा फ्याँकिएको कसिङ्गर’ को नामले दुई विद्वान् भोलानाथ पौडेल र धनवज्र बज्राचार्यले सम्पादन गरी जगदम्बा प्रकाशनबाट २०१८ सालमा प्रकाशनमा ल्याए ।

यस्तै २०२१ साल असोज ४ गते पं. पूर्णनाथ पन्तले ‘भास्करीय बीजगणित’ का जम्मा ११८ पत्रमध्ये १० पत्र नयराज पन्तलाई दिए । सोही वर्ष ऋषिपञ्चमीमा विष्णुमतीमा बग्दै आएका पुस्तक उनले बटुलेका रहेछन् ।

गल्लीमा फ्याँकिएका कसिङ्गरलाई बटुलबाटुल गरेर यो छापिँदा महìवपूर्ण ऐतिहासिक तथ्यहरू प्राप्त भए । ‘मुद्राराक्षस’ तथा ‘पञ्चतन्त्र’ जस्ता संस्कृत भाषाका लोककथाहरू नेपालीमा अनुवाद भएका हस्तलिखित पुस्तक पनि यसमा थिए । ‘पञ्चतन्त्र’ संस्कृतबाट हिन्दीमा सबैभन्दा पहिले अनुवाद भएको भनी दाबी गरिएको रहेछ तर यो त हिन्दीमा भन्दा एक सय वर्षअघि नै नेपाली भाषामा अनुवाद भएको ऐतिहासिक तथ्य पनि यसैबाट फेला परेको थियो । यसलाई हामीले गौरवपूर्ण योगदान मान्नु पर्छ । यी कागजपत्रहरू नयराज पन्तले प्युखाटोलमा प्राप्त गर्नुभएको थियो ।

मोतीराम भट्टका सुन्दर अक्षर

नेपाली भाषामा लेखिएका पत्रपत्रिकाको अध्ययनको क्षेत्रमा शिव रेग्मीले जति अरूले योगदान गर्न सकेका छैनन् । २०७१ सालमा उहाँले जगदम्बाश्री पुरस्कार पाएको घोषणा भर्खरै भएको थियो । पङ्क्तिकार केही जिज्ञासा लिएर २०७२ कात्तिक महिनामा उहाँको पुरानो बानेश्वरस्थित घरमा पुगेको थियो । उहाँको घरको एकतलाभरि पत्रिकाको सङ्ग्रह गरिएको थियो । त्यसको तीन वर्षपछि अर्थात् २०७५ सालमा रेग्मीको देहान्त भयो ।

लामो समय निजामती सेवामा बिताउनु भएका रेग्मीले आफ्नो सम्पूर्ण जीवन साहित्यिक अन्वेषणमा लगाउनु भयो । अझ उहाँको विशेष योगदान साहित्यिक पत्रपत्रिकाको क्षेत्रमा रह्यो । कसैले आफूसँग भएको कागजजन्य कसिङ्गर फ्याँक्न लागेको सुन्ना साथ उहाँको कान चनाखो हुँदोरहेछ । त्यस्तो बेला उहाँ ‘यदि तपाईंले पत्रपत्रिका फ्याँक्न लाग्नुभएको हो भने सकेसम्म सित्तैमा नभए मूल्य लिएर भए पनि मलाई दिनुहोस्’ भनी अनुरोध गर्नु हुँदोरहेछ । 

एक दिन उहाँको सहकर्मीले फ्याँक्न लागेको केही कागजपत्र उहाँले किन्नुभयो । त्यहाँ कैयौँ महìवपूर्ण सामग्री थिए, त्यसमा पनि एक अत्यन्तै महìवपूर्ण सामग्री यो लेखकले पनि हेर्ने अवसर पायो । त्यो थियो, मोतीराम भट्टले तयार पारेको हस्तलिखित पुस्तक । हस्तलिखित पुस्तक हेर्दा लाग्यो, मोतीरामको अक्षर असाध्यै सुन्दर रहेछन् । उर्दु र अङ्ग्रेजी अक्षर पनि उत्तिकै सुन्दर । पुस्तकभित्र राम्रा राम्रा चित्र पनि छन् । यसरी सडकमा सड्न लागेको मोतीराम भट्टको हस्तलिखित ग्रन्थ र कैयौँ महत्वपूर्ण सामग्री अन्वेषक रेग्मीको सङ्ग्रहमा सुरक्षित हुन सम्भव भयो । हामीले पनि यसबाट ठुलो पाठ सिक्न सक्छौँ । फोहोर कसिङ्गर हुन लाग्यो भनेर आँखा चिम्लेर कागजपत्र फ्याँक्ने काम कहिल्यै नगरौँ ।

झन्डै माटोमा मिलेको त्यो इतिहास

विसं १९३३ मा गोरखामा सुकदेव गुरुङले जङ्गबहादुर राणाविरुद्ध ठुलो विद्रोह गर्नुभएको थियो । उहाँले आफूलाई बौद्ध बादशाह घोषणा गरेर कैयौँ अनुयायी बटुल्नु भयो । उहाँलाई राणा शासकले गिरफ्तार ग¥यो । उहाँलाई अदालत लगियो र दोषी करार गरियो । उहाँ जेलमै ज्वरो आई बित्नुभयो । उहाँपछि सुपति गुरुङले नेतृत्व सम्हाली आफूलाई बौद्ध बादशाह घोषणा गरी विद्रोहलाई निरन्तरता दिनुभयो । यो इतिहास प्राडा त्रिरत्न मानन्धरको ‘नेपालको इतिहासमा जङ्गबहादुर’ (२०४८ः पृ. १४५–४६) मा पढ्न पाइन्छ ।

यस विषयको सन्दर्भ सामग्री विषयमा जिज्ञासा लिएर पाँच वर्षअघि गल्कोपाखास्थित प्राडा मानन्धरको निवासमा पङ्क्तिकार पुगेको थियो । सुकदेव गुरुङको ज्वरोले मृत्यु भएको १९३३ चैत वदी ५ रोज १ को ऐतिहासिक कागज कसरी फेला परेको थियो भन्ने रोचक वृत्तान्त मानन्धरबाट सुन्न पाइयो ।

कुरा के परेछ भने इतिहासकार धनवज्र बज्राचार्य आफ्नो निवास महाबौद्धबाट प्रभातकालीन भ्रमणमा निस्कँदा हनुमानढोका पुग्नु भएछ । त्यहाँ धमाधम फ्याँक्नका लागि पुराना कागजहरू ट्रकमा लोड गरिँदै रहेछ । नजिक पुगेर हेर्दा कसोकसो उहाँको आँखा एउटा कागजमा परेछ । उहाँले प्रहरीलाई अनुरोध गरेर एक दिनका लागि भए पनि ती कागजहरू नफ्याँक्न अनुरोध गर्नु भएछ । बडो मुस्किलले प्रहरीलाई मनाउनु भएछ ।

त्यो बेला धनवज्र त्रिभुवन विश्वविद्यालयको एसिया तथा नेपाल अनुसन्धान केन्द्र (सिनास) मा रहेर अध्ययन अनुसन्धानमा संलग्न हुनुहुन्थ्यो । उहाँले कार्यालय पुगी यताउताबाट कुरा मिलाएर केही कागजपत्र सिनासमा लगेर सुरक्षित गर्नुभयो । तिनै कागजमध्ये सुकदेव गुरुङ पक्राउ परी उहाँको काराबासमै मृत्यु भएको ऐतिहासिक तथ्य सुरक्षित रहन सम्भव भयो । फलतः सुकदेवको नेतृत्वमा गोरखामा विद्रोह भएको प्रमाणित इतिहास प्रकाशमा ल्याउन सकियो ।

नेपालका अनुसन्धान क्षेत्रका तीन जना विद्वान्को अनुभवले पनि के स्पष्ट गर्छ भने कुनै पनि कागजपत्रलाई फ्याँक्न वा नष्ट गर्नुअघि अत्यन्तै ठुलो सावधानी अपनाउन आवश्यक छ । किनकि ती कागजपत्रमा इतिहाससम्बन्धी महìवपूर्ण प्रमाण हुन सक्छन् ।

पुराना लिखतहरू परम्परागत नेपाली कागजमा हुने हुनाले निकै संवेदनशील पनि हुन्छन् । त्यसमा अलिकति मात्र पानी प¥यो भने पनि त्यो लतक्क भिज्छ र लिखतका अक्षरहरू तुरुन्तै मेटिन सक्छ । अझ गाउँघरतिर पहिले पहिले चकमक र ढुङ्गा रगडेर आगो निकाल्ने क्रममा यस्ता नेपाली कागज प्रयोग गरिन्थे । यसो गरिँदा पनि महत्वपूर्ण यस्ता ऐतिहासिक स्रोतहरू नष्ट हुन पुगेका थिए ।

अहिले त डिजिटल प्रविधि प्रचलनमा रहेकाले ती कागजपत्रलाई सुरक्षित गर्न असजिलो छैन । पुराना लिखतहरू इतिहासका प्रमाण हुन् । प्रामाणिक इतिहासको अध्ययन र लेखनका लागि लिखत सामग्री अत्यन्तै जरुरी हुन्छ तर पुराना कागज भन्दै तिनीहरूलाई हामीले फोहोरको डङ्गुरमा फ्याँक्ने वा जलाउने कार्य ग¥यौँ भने हाम्रा कैयौँ गौरवपूर्ण ऐतिहासिक तथ्यहरू पनि नष्ट भएर जान सक्छ । इतिहास राष्ट्रको गौरव बढाउने ज्ञान हो । त्यसैले राष्ट्रिय गौरवलाई जोगाउन आआफ्नो घरमा भएका पुराना लिखतहरूलाई जोगाऔँ । महत्वपूर्ण सामग्री भएको जस्तो लागे विज्ञहरूको सहयोग मागौँ, डिजिटाइज गरौँ । इतिहासलाई हेयको विषय नबनाऔँ ।