• ३० वैशाख २०८२, मङ्गलबार

विज्ञान शिक्षक नहुँदा विद्यार्थीको पढाइ प्रभावित

blog

महोत्तरीको बर्दिबास नगरपालिका—१३ बिजलपुरा डाँडाटोलस्थित जनता माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी । तस्बिर : अमृतकुमार महतो

अमृतकुमार महतो
बिजलपुरा( महोत्तरी), वैशाख ३० गते ।
महोत्तरीको बर्दिबास नगरपालिका—१३ बिजलपुरा डाँडाटोलस्थित जनता माध्यमिक विद्यालयको कक्षा ९ र १० मा विज्ञान विषय पढाउने शिक्षक नहुँदा नयाँ शैक्षिका सत्र—२०८२ नै प्रभावित बन्न पुगेको छ  ।

बर्दिबास नगरपालिकाको शिक्षा शाखाले विज्ञान शिक्षक सन्तोष कुमार गुप्तालाई विद्यालयबाट सरुवा गरपछि समस्या भएको हो । सरुवा गरेको शिक्षकको स्थानमा नयाँ शिक्षक व्यवस्थान नभएपछि विद्यालयका विद्यार्थीको पढाई प्रभावित बनेको विद्यालयका निम्ति प्रधानाध्याक ममता काफ्ले बताउनुभयो । विद्यालयको माध्यमिक तहको राहत कोटाका विज्ञान विषयका शिक्षक सरुवा भएर राष्ट्रिय माध्यमिक विद्यालय पथलैया पशुपतिनगर पठाइएको थियो ।

कक्षा ९ मा पढ्ने अकाशकुमार ठाकुरले विज्ञान विषयको पढाई नहुँदा आफूहरूको भविष्य नै डमाडोल बनेको गुनासो गर्नभयो । उहाँले भन्नुभयो, ‘‘प्रधानाध्यापकसँग विज्ञान शिक्षक ल्याउन माग गरेका थियौं । उहाँले छिट्टै हुन्छ भन्नुभयो । तर खै कहिले हुन्छ ? स्कुल खुलेको १५ दिनभन्दा बढी भइसक्यो । विज्ञान विषय पढाई नै भएको छैन ।’’  कक्षा ९ र १० मा गरी  झण्डै एक सय ४० जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयमा स्थायी रूपमा माध्यमिक तहमा विज्ञान विषयको शिक्षक व्यवस्थान गर्न बर्दिबास नगरपालिका गम्भीर नबनेको अभिभावकहरूको भनाइ छ । शिक्षकहरुको आन्दोलनले बन्द रहेको सामुदायिक विद्यालय खुलेको मात्रै दुई साता भएको । आन्दोलनले पढाई प्रभावित बनेको अवस्थामा झन् कक्षा ९ र १० मा विज्ञान पढाउने शिक्षक नै सरुवा भएर गएपछि झनै समस्या आएको विद्यालयका अभिभावक बीरेन्द्रकुमार महतोले बताउनुभयो ।

‘‘माध्यमिक तहमा धेरै पहिलादेखि विज्ञान शिक्षकको अभाव छ । कुरा उठेपछि तानतुन गरेर अस्थायी रूपमा शिक्षक व्यवस्थान गरिन्छ । फेरि उस्तै हुन्छ’’, उहाँले भन्नुभयो, ‘‘नयाँ शैक्षिक सत्र बितेको पनि एक महिना हुँदै छ । तर विद्यार्थीहरूले विज्ञान विषयको एउटा पाठ पनि पढ्न पाएका छैनन् । यो समस्या धेरै ठुलो भएर गयो । विज्ञान जस्तो गम्भीर र कठिन विषय पढाई नै हुँदैन भने भोली डाक्टर, इन्जिनियर हाम्रो बच्चाहरू कसरी बन्छन् ? यो गम्भीर प्रश्न छ ।’’ राजनीतिले विद्यालयको पठनपाठन बिग्रिएको बताउनुहुँदै उहाँले भन्नुभयो,  ‘‘स्कुलको जग्गा अतिक्रमणमा परेको छ । विद्यालयको शौचालय जीर्ण छ । पढाई राम्रोसँग हुँदैन । तर विद्यालय व्यवस्थान समितिलाई ध्यान छैन । हाम्रो बालबालिकाहरूको भविष्यसँग खेलवाड गर्ने अधिकार कसैलाई छैन ।’’

जसरी हुन्छ छिट्टो भन्दा छिट्टै नगरपालिकाले विद्यालयमा विज्ञान शिक्षक पठाईदिनु पर्ने माग विद्यालय प्रशासनको छ  । ‘‘लामो समयदेखि स्कुलमा विज्ञान पढाउने शिक्षकको स्थायी व्यवस्था नहुँदा समस्या भइरहेको छ । यस अघि  त वर्ष दिन विद्यालयमा विज्ञान पढाउने शिक्षक नै थिए’’, निमित प्रधानाध्यापक काफ्लले भन्नुभयो, ‘‘विज्ञान जस्तो कठिन विषय स्कुलमा पढाई हुँदैन भने कसरी विद्यार्थीले आउँदा दिनमा इन्जिनियर, डाक्टर वा अरू क्षेत्रमा अब्बल बन्छ ? प्रश्न उठेको छ ।’’ स्थानीय सरकारले हाम्रो विद्यालयमा छिट्टोभन्दा छिटो विज्ञान शिक्षकको व्यवस्था गर्नु पर्ने उहाँले बताउनुभयो ।

बर्दिबास नगरपालिकाको शिक्षा शाखा प्रमुख रेवती पराजुलीले विद्यालय विज्ञान शिक्षक व्यवस्था बारे शिक्षा समितिमा जानकारी गराइसकिएको बताउनुभयो । विद्यालय व्यवस्थान समितिका सदस्य जगजीवन महतोले विद्यालयले छिट्टै विज्ञान शिक्षक व्यवस्थान, शौचालय व्यवस्थान लगायतका व्यवस्थापन गर्ने बताउनुभयो ।