• २१ वैशाख २०८१, शुक्रबार

खण्डहरमा परिणत भवन बेवारिसे

blog

काठमाडौँ, चैत २३ गते । खण्डहर बनेको हनुमानढोका क्षेत्रमा रहेको प्रहरी कार्यालय भवन भत्काउने वा प्रबलीकरण गर्ने भन्ने निष्कर्षमा सम्बन्धित निकाय पुग्न सकेको छैन । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएपछि सो भवन अलपत्र छ ।

भवन रहेको जग्गा नेपाल प्रहरीको नाममा रहे पनि विश्व सम्पदा क्षेत्रमा रहेकाले सरोकारवाला निकाय गृह मन्त्रालय, काठमाडौँ महानगरपालिका, पुरातत्व विभाग र हनुमानढोका दरबार हेरचाह अड्डा त्यस सम्बन्धमा कुनै निर्णयमा पुग्न सकेका छैनन् । हनुमानढोका प्रहरी कार्यालयको जग्गाको क्षेत्रफल दुई रोपनी आठ आना छ ।

सो भवनमा रहेको प्रहरी कार्यालय ७२ सालको भूकम्पपछि टेकुमा सारिएको छ । साढे चारतले सो भवन दिनप्रतिदिन जीर्ण हुँदै जाँदा जोखिम बढ्दै गएको छ । मानव बस्नलायकको नभएको भनी ‘रेड स्टिकर’ लगाइएको सो भवनमा अहिले जनसेवा ट्राफिक प्रहरी कार्यालयका जवान सपरिवार बस्दै आएका छन् भने भवनको प्राङ्गणमा कबाडी भइसकेका मोटरसाइकल र काष्ठमण्डप पुनर्निर्माणका व्रmममा बचेका पुराना काठ तथा बाँस थुपारिएका छन् । २०१५ सालमा निर्माण भएको सो भवन विश्व सम्पदाको मापदण्डविपरीत रहेको बताइएको छ । 

जोखिममा रहेको सो भवन भत्कियो भने मानवीय क्षति हुन सक्ने भन्दै हनुमानढोका दरबार हेरचाह अड्डाले भवन भत्काउन सुझावसहित पुरातत्व विभागलाई पत्राचार गरे पनि विभागबाट अहिलेसम्म कुनै जवाफ आएको छैन । हेरचाह अड्डाले पुस २४ गते पुरातत्व विभागलाई पत्राचार गरेको थियो ।

हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जीर्ण भवन विश्व सम्पदा क्षेत्रमा रहेकाले त्यस क्षेत्रको सौन्दर्य तथा पर्यटक आवागमनमा समेत असर पुग्ने भएको हुँदा यस क्षेत्रको समग्र सुरक्षाका लागि भवन भत्काउने सुझावसहितको पत्र पुरातत्व विभागलाई पठाइएको जानकारी दिनुभयो । हेरचाह अड्डाले भवन के, कसरी, कुन मोडालिटीमा भत्काउने भन्ने विषयमा यथाशीघ्र राय दिन विभागलाई आग्रह गरेको थियो ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले हेरचाह अड्डाले पठाएको पत्रलाई गम्भीरतापूर्वक लिँदै अन्तिम निष्कर्षका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै उक्त भवनको तालुकदार गृह मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिनुभयो । उहाँले यसबारे गृह मन्त्रालयमा आफूसहित सम्बन्धित निकायको सहभागितामा छलफल भएको जानकारी दिनुभयो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सो भवनबारे काठमाडौँ महानगरपालिका, पुरातत्व विभाग, हनुमानढोका दरबार हेरचाह अड्डासँग छलफल भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरको केही जग्गा काठमाडौँ महानगरपालिकाको नाममा छ, त्यो जग्गासँग सम्बन्धित भएर पनि कामपासँग छलफल भइरहेको छ । ट्राफिक प्रहरी कार्यालय परिसरमा काठमाडौँ महानगरपालिकाको करिब सात रोपनी जग्गा छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले हनुमानढोकाको सो भवनबारे काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबाट सो भवनलाई भत्काउने सुझावसहितको पत्र प्राप्त भएको बताउँदै सो सम्बन्धमा प्रहरी प्रधान कार्यालयमा के गर्ने भन्ने रायसुझावका लागि पत्राचार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी प्रधान कार्यालयबाट कुनै जवाफ आएको छैन । 

उहाँले भन्नुभयो, “सो भवनको प्रबलीकरण हुने होइन, भत्काउने नै हो । कसरी भत्काउने हो, कसले भत्काउने हो, भत्काएपछि के बनाउने हो ? लगायतको विषयमा छलफल भइरहेको छ । सो जग्गा निर्णय भइसकेको छैन ।” 

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले नेपाल प्रहरीको स्वामित्वमा रहेको सो जग्गामा महानगरलाई जिम्मा दिएको अवस्थामा महानगरले यहाँको सम्पदासँग जोडेर काम गर्ने बताउनुभयो ।