• १८ वैशाख २०८१, मङ्गलबार

कपिलवस्तुको सिकोटवामा फैलियो झाडापखाला

blog

कपिलवस्तु नगरपालिका ३ सिकोटवा गाँउ । तस्बिरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), २२ गते । कपिलवस्तुको कपिलवस्तु नगरपालिका ३ सिकोटवा गाउँमा झाडापखाला फैलिएको छ । दुई तीन दिन यता सिकोटवा गाउँको केही परिवारमा झाडापखाला देखिएको हो । 

कपिलवस्तु अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विपिन जयसवालका अनुसार अस्पतालमा झाडापखाला बिरामी आएपछि एन्टीजेन परीक्षण गर्दा एक जनामा हैजा देखिएको बताउनुभयो । उहाँले अस्पतालमा आएका झाडा पखालाका बिरामीहरूलाई छुट्टै उपचारको व्यवस्था र एन्टीजेन परीक्षण अनिवार्य गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, "सरसफाइ र दूषित खानेपानीका कारण यस्तो रोगहरू फैलिने गरेको छ ।"

स्वास्थ्य कार्यालय कपिलवस्तुका ल्याब टेक्नेसियन श्रीधर खनालका अनुसार सिकोटवा गाउँमा रहेको खानेपानीको धाराबाट पानीको चेक जाँच गर्न पठाइएको बताउनुभयो । उहाँले रिर्पोट आएपछि मात्र रोगको यकिन गर्न सकिने बताउनुभयो । अहिलेसम्म तीन जना झाडापखालाका बिरामी भेटिएको उहाँले बताउनुभयो । तीन जनामध्ये दुई जनालाई कपिलवस्तु अस्पतालबाट घर पठाइएको र एक जनाको उपचार भइरहेको बताउनुभयो । 

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलका अनुसार झाडापखालाका बिरामीहरूको सङ्ख्या बढ्न थालेपछि गाउँमा हैजा फैलन नदिन स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको बताउनुभयो । उहाँहरूलाई स्वास्थ्य साबुनल, जीवनजल गायतका स्वास्थ्य सामग्री वितरण गर्नुका साथै जनचेतनाका लागि माईकिंग समेत गरिएको बताउनुभयो। 

जिल्लालाई २०७६ भदौ ३१ गते खुला दिशा मुक्त जिल्ला घोषणा गरिएको थियो । ढाई वर्ष पहिले कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको महामरी फैलिएको थियो ।