• ९ मंसिर २०८१, आइतबार

गुल्मीमा विद्युतीय गाडी सञ्चालन

blog

रमेश विश्वकर्मा

गुल्मी, चैत २२ गते। गुल्मीमा विद्युतीय गाडी सञ्चालनमा ल्याइएको छ। एक महिनाको सफल परीक्षणपश्चात् मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मैत्री यातायात प्रालिद्वारा जिल्लामा अत्याधुनिक सेवासहितको वातावरण मैत्री दस वटा विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो।

पेट्रोल र डिजेलद्वारा सञ्चालित यातायात रहेकोमा यहाँ अब विद्युतीय सवारी साधन चल्ने भएको छ। सदरमुकाम तम्घासमा यातायात सेवा सुचारु भएको ४१ वर्षपछि यातायात सुविधा नयाँ युगमा प्रवेश गरेको छ। जिल्लाको पुर्कोटदह, तम्घास हुँदै सुनौलीसम्म आवतजावतको अनुमति प्राप्त ‘मैत्री यातायात सेवा’ बिहीबारदेखि औपचारिक रूपमा शुभारम्भ गरिएको छ।

तम्घासमा जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्री, रेसुङ्गा नगर प्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, राजनीतिक दलको तर्फबाट नेकपा (एमाले) का अध्यक्ष बालसिंह काउछा लगायतले उक्त गाडीमा सदरमुकाम भित्र यात्रा गरी शुभारम्भ गर्नुभयो।

पेट्रोलियम पदार्थमा ठुलो धनराशि बाहिरी मूलकमा खर्चिएको हुँदा त्यसलाई रोक्न आफ्नै मुलुकमा उत्पादित विद्युतबाट यातायातका साधन सञ्चालनमा ल्याउन प्रोत्साहित गरिरहेको बेला मैत्री बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना १५ जना युवा बेरोजगार शेयर सदस्यलाई लगानी प्रवाह गरी उद्यमी समेत बनाएको छ। १० जना चालकले प्रत्यक्ष रोजगारी पाएका छन्। त्यस संस्थाका प्रबन्धक अर्जुन आचार्यले २० प्रतिशत शेयर सदस्य र ८० प्रतिशत अर्थात् कुल साढे चार करोड रुपियाँ लगानी गरिएको र प्रति गाडीको मूल्य ५६ लाख ५० हजार रुपियाँ रहेको बताउनुभयो। 

जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले शुभकामना दिनुभयो। नियमित बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म धुर्कोट, सिमलटारी, तम्घास, बलेटक्सार र पाल्पा हुँदै बुटवल गुड्नेछन्। विद्युतीय गाडी १३ सिट क्षमता रहेको छ। तम्घासदेखि बुटवलको भाडा ५ सय ६५ कायम गरिएको छ।