• ९ मंसिर २०८१, आइतबार

ग्रामथान संरक्षणमा राज्य गम्भीर नभएको गुनासो

blog

सचिन पोख्रेल

इटहरी, चैत २२ गते। ऐतिहासिक धार्मिक महत्त्व बोकेको ग्रामथान संरक्षणमा राज्य गम्भीर नभएका कारण ग्रामथान जोखिममा परेको थारु समुदायका अगुवाले गुनासो गरेका छन्। 

इटहरीमा ग्रामथान संरक्षण समिति सुनसरीको छैटौँ वार्षिक साधारण सभामा थारु समुदायका अगुवाले ग्रामथान संरक्षणमा सरकारी चासो हुनुपर्नेमा जोड दिएका हुन्। 

ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष तेजनारायण चौधरीको अध्यक्षता तथा राष्ट्रिय थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा थारु समुदायका अगुवाले थारु समुदायका कतिपय कला, संस्कृति, परम्परा युवा पुस्तामा हस्तान्तरण नभएका कारण लोप हुने अवस्थामा पुगिसकेको भनी चिन्ता व्यक्त गर्नुभयो। 

थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले ग्रामथानलाई जीवन्त राख्न सुनसरीले महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै ग्रामथान संरक्षण समितिको प्रशंसा गर्नुभयो। उहाँले भाषा, संस्कृति, परम्परा र इतिहास मेटिन दिनु नहुनेसमेत बताउनुभयो।

ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष चौधरीले कतिपय ठाउँमा विकासका नाममा ग्रामथान अतिक्रमण गरिएको भन्दै गुनासो गर्नुभयो। उहाँले ग्रामथानको संरक्षणमा राज्य गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका अन्य वक्ताले ग्रामथान हालसम्म पनि सूचीकृत नभएकामा चिन्ता व्यक्त गर्दै सबै पालिकामा सूचीकृत गरिनुपर्नेमा जोड दिनुभयो। त्यसै गरी ग्रामथान संरक्षणका लागि आवश्यक कानुन बनाउनुपर्नेसमेत थारु समुदायका अगुवाहरूको राय थियो। कार्यक्रममा युवा पुस्तालाई आफ्नो कला, संस्कृति, परम्परा जगेर्नामा जागरूक बनाउनुपर्नेमा समेत वक्ताहरूले जोड दिए।

इटहरी उपमहानगरपालिका–१६ मा रहेको जब्दी मन्दिरपरिसरमा आयोजना गरिएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्यद्वय जयप्रकाश चौधरी र सुनिता गच्छदार, रामधुनी नगरपालिकाका पूर्वनगर प्रमुख जयप्रकाश चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य सुशीला चौधरी, ग्रामथान संरक्षण समिति सुनसरीका सल्लाहकार पदम अधिकारीलगायतका वक्ताले ग्रामथान संरक्षणका विषयमा चर्चा गर्नुभयो।