• ९ मंसिर २०८१, आइतबार

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्तामा टुङ्गोमा पुर्‍याउनुपर्ने

blog

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी ।

काठमाडौं, चैत २२ गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्ता भित्रमा टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफलको क्रममा बोल्नुहुँदै मन्त्री गिरीले सो विधेयकलाई एक हप्ताभित्र टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभएको हो ।

उहाँले संसद्को हिउँदे अधिवेशनको समय धेरै बाँकी नरहेको भन्दै चालु हिउँदे अधिवेशनमै समितिले विधेयकलाई पारित गरेर संसदमा पठाउनुपर्ने बताउनुभयो । उहाँले एक हप्ताभित्र पारित गर्नेगरी तीव्रताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । चालु अधिवेशनमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पुर्‍याउन सके राम्रो उपलब्धि हुने उहाँको भनाइ छ ।

‘‘मैले यसभन्दा अगाडिको बैठकमा पनि माननीयज्यूहरूलाई आग्रह गरेको थिएँ, संसद्को यो हिउँदे अधिवेशनको धेरै समयावधि सायद छैन । यसबिचमा हामीले कम्तीमा पनि यो केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुङ्ग्याएर ऐनको रूपमा अगाडि बढाउनको निम्ति सक्यौँ भने राम्रो उपलब्धि हुनसक्छ भन्ने लागेको छ ।,’’ मन्त्री गिरीले भन्नुभयो, ‘‘हामीसँग धेरै समय छैन । जसले गर्दाखेरी हामी तीव्रताका साथ काम गर्नुपर्ने छ र आउने एक हप्ताभित्र यसलाई टुङ्गोमा पुर्‍याउनुपर्ने छ र संसदमा प्रतिवेदन बुझाउने स्थितिमा हामी जान सक्यौँ भने राम्रो उपलब्धि हुन्थ्यो भन्ने मलाई लाग्छ ।’’

मन्त्री गिरीले छलफलका क्रममा सांसदहरूले राखेको सुझावहरूको सन्दर्भमा मन्त्रालयमा छलफल गरेर धारणा तय गर्ने बताउनुभयो । विधेयकको सम्बन्धमा बाँकी रहेका छलफलहरूमा सम्बन्धित मन्त्री बसेर छलफल अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो ।