• १३ साउन २०८१, आइतबार

काठमाडौं महानगरले चैत २५ देखि गरिब घरपरिवारको गणना सुरु गर्दै

blog

काठमाडौं, चैत २० गते । काठमाडौं महानगरपालिकाभित्र चैत २५ गतेदेखि गरिब घरपरिवार गणना सुरु हुने भएको छ । गणना कार्यमा खटिने गणक र गणकको सुपरिवेक्षकका लागि मङ्गलबारदेखि थापाथली इञ्जिनियरिङ क्याम्पसमा चारदिने तालिम सुरु भएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले गणकहरुले भरेको विवरण स्रोतमा पुष्टि हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अवस्था अनुमान गरेर विवरण भर्ने सुविधा कसैलाई छैन । यसबाट प्राप्त हुने तथ्याङ्कहरु नीति, योजना तथा कार्यक्रम निर्माण गर्ने आधार हुन् । फिल्डमा जानुअघि तथ्याङ्ककाे संवेदनशीलता हरेक गणक, सुपरिवेक्षक र यसमा खटिने अधिकारीहरुलाई बोध हुन जरुरी छ ।”

सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले भन्नुभयो, “वास्तवमै विपन्नहरु जायजेथा बेचेर भए पनि आफू समृद्ध भएको देखाउन चाहन्छन् । समृद्धहरु सुविधा लिनका लागि आफूलाई विपन्नका रुपमा देखाउन चाहन्छन् । सामाजिक यो मनोविज्ञान गणक र सुपरिवेक्षकले बुझ्नुपर्छ ।”

उहाँले विनयशील र नम्र भएर आफ्नो भूमिकाका बारेमा जानकारी दिनुपर्ने बताउनुभयो ।

सामाजिक विकास विभागका प्रमुख विमला कोइरालाले भन्नुभयो, “आफूले कस्ताे प्रश्न सोध्ने हो, यसरी सोधिएका प्रश्नहरुबाट प्राप्त विवरण केका लागि प्रयोग हुन्छन्, भनिदिनुपर्छ । गणक र सुपरिवेक्षकबाट महानगरपालिकाको छवि बढाउने व्यक्तित्व अपेक्षा गरेका छौं ।”