• १४ पुस २०८१, आइतबार

सन्दिग्ध इजरायली आक्रमणमा इरानका दुई वरिष्ठ कमान्डरको मृत्यु

blog

दमास्कस, (सिरिया), चैत २० गते । सिरियाको दमास्कसस्थित इरानी वाणिज्य दूतावास भवनमाथि इजरायलले गरेको सन्दिग्ध हमलाको कठोर जवाफ दिने तेहरानले चेतावनी दिएको छ ।

इरानी विदेशमन्त्री होसैन अमिर अब्दोल्लाहिअनले हमलालाई अन्तर्राष्ट्रिय महासन्धिहरूको उल्लङ्घनको संज्ञा दिनुभएको छ । दमास्कसमा सोमवार गरिएको हमलाको बदलामा उस्तै कदम चाल्ने अधिकार इरानसँग रहेको इरानी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

आक्रमणमा ११ जना मारिएका विवरणमा जनाइएको छ । तीमध्ये इरानको रिभोल्युश्नरी गार्ड्सका दुईजना वरिष्ठ कमान्डर पनि छन् । रिभोल्युश्नरी गार्ड्सले विज्ञप्तिमार्फत जनाएअनुसार मारिनेमा ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी पनि रहेको पुष्टि भएको छ ।

इरानी विदेशमन्त्री होसैन अमिर अब्दोल्लाहिअनले उक्त आक्रमणले अन्तर्राष्ट्रिय महासन्धिहरूको उल्लङ्घन गरेको बताउनुभएको छ । दमास्कसको मेज्जेह जिल्लास्थित इरानी वाणिज्य दूतावास भवन हमलापछि ध्वस्त भएको अनलाइनमा राखिएका भिडिओहरूमा देखिन्छ ।

यसैबीच, इरानको राजधानी तेहरानमा प्रदर्शनकारीहरूले इजरायलविरोधी नारा लगाउँदै इजरायली झण्डा जलाएका छन् । जाहेदीको मृत्युका लागि इजरायल जिम्मेवार रहेको इरानले जनाएको छ जसलाई दुई देशबीच तनाव चुलिने एउटा सङ्केतको रूपमा हेरिँदैछ । ‘निशाना र त्यसका लागि जिम्मेवार पक्षबारे’ अमेरिकालाई थाहा हुन नसकेको ह्वाइट हाउसले बताएको छ । रासस/एएफपी