• १३ पुस २०८१, शनिबार

अफगानिस्तानमा विस्फोट हुँदा नौ बालबालिकाको मृत्यु

blog

काबुल, चैत १९ गते । अफगानिस्तानको गजनी प्रान्तमा बेवारिसे विस्फोटक पदार्थ विस्फोट हुँदा नौ बालबालिकाको ज्यान गएको सरकारी बख्तार समाचार एजेन्सीले सोमबार जनाएको छ ।

आइतबार दिउँसो चारदेखि दश वर्ष उमेर समूहका ती बालबालिकाले बेवारिसे बम खेलाउँदा अचानक विस्फोट भएको थियो । उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको बख्तारले गजनीका सूचना र संस्कृति विभागका निर्देशक मुल्लाह हमिदुल्लाह निसारलाई उद्धृत गर्दै जनाएको छ । 

गत मार्च २२ मा पनि दक्षिणी हेलमन्ड प्रान्तमा एक बम विस्फोटमा परेर तीन बालबालिकाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।

अफगानिस्तान विश्वको सबैभन्दा युद्धग्रस्त तथा बढी बारुदी सुरुङयुक्त देशहरू मध्ये एक हो जहाँ विगत चार दशकभन्दा बढी समयदेखिको युद्ध र नागरिक द्वन्द्वका कारण विस्फोट नभएका उपकरणहरू जथाभाबी फालिएका छन् । रासस/सिन्ह्वा