• १३ पुस २०८१, शनिबार

अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न पहल

blog

निशा राई 

धरान, चैत १९ गते । बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा प्रवेशद्वार अघि रहेको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न पहल सुरु गरिएको छ । सोमबार धरान उपमहानगरपालिका १८ का वडाध्यक्ष प्रवीण राई र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईसहित सरोकारवालाहरुको उपस्थितिमा अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न सुरु गरिएको हो ।

टेम्पो, सिटी सफारी, एम्बुलेन्स तथा मोटरसाइकल लगायतका सवारी साधनहरुको अव्यवस्थित पार्किङका कारण प्रतिष्ठानमा उपचारका लागि आउने आगन्तुक तथा अन्य सवारी साधनलाई समेत आवतजावतमा समस्या उत्पन्न भएपछि सुधारको प्रयत्न सुरु गरिएको धरान १८ नम्बर वडाध्यक्ष प्रवीण राईले बताउनुभयो । अब उप्रान्त अस्पताल प्रवेशद्वार अघि ६ वटा टेम्पो, ४ वटा सिटी सफारीमात्रै पार्किङ गरिने र बाँकी टेम्पो र सफारी बीपी सुन्दर बजारदेखि दक्षिणतर्फ सार्वजनिक शौचालयसम्म र मोटरसाइकल पार्किङ औषधी पसल एकतर्फी व्यवस्थित गरिने उहाँले बताउनुभयो । 

एम्बुलेन्सहरु शिवमार्गतर्फ व्यवस्थित गर्दै उक्त क्षेत्रमा ९ वटा सङ्केत बोर्डहरु र सवारी पार्किङका लागि सडकमा इनामेलले रेखा कोरिने र त्यसको सम्पूर्ण खर्च व्यवस्थापन वडा समितिले गर्ने अध्यक्ष राईले बताउनुभयो । 

निर्धारण गरिएका स्थानहरुमा मजदुरहरुकै तर्फबाट स्वयंसेवक परिचालन गरी नियमको पालना गराइने नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनुभयो । सवारी साधनको अस्तव्यस्तका कारण हामी मजदुरहरुलाई समेत काम गर्न अप्ठ्यारो भइरहेकोमा सबैको पहलमा नयाँ सिस्टम सुरु हुँदा हामीलाई यसले सहज हुने टेम्पो चालक सोवित राईले बताउनुभयो । 

सवारी पार्किङ व्यवस्थापनमा संलग्न १८ नम्बर वडाध्यक्ष प्रवीण राई, सङ्गठनका अध्यक्ष मजदुर नेता भीमज्वाला राई, धरान नगर प्रहरी प्रमुख इन्स्पेक्टर विष्णु कोइराला, सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालयका सइ दिलीप चौधरी, कान्तिपुर सेक्युरिटी कम्पनीका धरान प्रमुख दुर्गा पराजुलीलगायत मजदुरहरु रहनुभएको थियो ।