• १९ असार २०८१, बुधबार

नेपाल-भारत धार्मिक महायात्राको तयारी तीव्र

blog

महायात्राको तयारीको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनका सहभागीहरू । तस्बिर : लीलाधर वल

लीलाधर वली

घोराही, चैत १९ गते । नेपाल-भारत धार्मिक एवम् ऐतिहासिक गोरक्षपात्र देवता सिद्धरत्ननाथ-देवीपाटन महायात्रा-२०८० को तयारी तीव्र छ । प्रत्येक वर्ष चैत पञ्चमीका दिन दाङको चौघेराबाट भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थित पाटेश्वरी मन्दिरसम्म हुने धार्मिक र सांस्कृतिक महत्वको ऐतिहासिक महायात्रालाई भव्य बनाउन दुवै देशमा तयारीलाई तीव्र बनाइएको हो । 

नेपालको तर्फबाट गोरक्षपात्र देवता सिद्धरत्ननाथ मन्दिर चौघेरा र भारतको तर्फबाट माँ पाटेश्वरी मन्दिर तुलसीपुरले महायात्रालाई भव्य बनाउन लागि परेका छन् । यस वर्ष यही चैत २३ गतेदेखि महायात्रा सुरु हुन थालेको छ । वि.सं. ८०९ देखि प्रत्येक वर्ष हुँदै आएको नियमित धार्मिक यात्रालाई यस वर्षदेखि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको विशेष पहलमा प्रदेशको गौरवको यात्राका रूपमा अघि बढाइएको गोरक्षपात्र देवता सिद्धरत्ननाथ मठ महायात्रा मूल आयोजक समितिका अध्यक्ष सुरतनाथ योगीले जानकारी दिनुभयो । 

मूल आयोजक समितिका अध्यक्ष योगीका अनुसार यही चैत २३ गते गोरक्षपात्र देवता सिद्धरत्नाथ मन्दिर चौघेराबाट देवता लिएर सुरु हुने महायात्राको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । अध्यक्ष योगीले भन्नुभयो, "प्राचीन समयदेखि चल्दै आएको यात्रा हो । समय परिस्थिति अनुसार सानो तथा ठुलो रूपमा यात्रा गरियो । तर यस वर्ष यात्रालाई महायात्राको रूपमा अघि बढाएका छौँ,तयारी अन्तिम चरणमा पुगेको छ ।" उहाँका अनुसार धार्मिक महायात्राले नेपाल–भारतको सम्बन्धलाई थप उचाइ दिनेछ । उहाँका अनुसार करिब १ सय ७० किलोमिटर यात्रा १३ दिनसम्म चल्ने छ । महायात्रालाई यस वर्षदेखि विशेष बनाउनेदेखि गरी करिब विभिन्न समुदायको अग्रजसँगै नेतृत्व लगायतका सहभागिता गराइने भएको छ । 

सिद्धरत्ननाथ–देवीपाटन धार्मिक यात्रा मात्रै नभएर दुवै देशको सम्बन्धलाई बलियो बनाउने सांस्कृतिक यात्रा भएको भारतस्थित माँ पाटेश्वरी मन्दिरका मठाधिश मिथलेशनाथ योगीले बताउनुभएको छ । मन्दिरका महाधिश योगीले भन्नुभयो,"देवीपाटन यात्रा एउटा धार्मिक यात्रा मात्रै होइन । यो नेपाल र भारत दुवै देशको सम्बन्धलाई बलियो बनाउने धार्मिक एवम् सांस्कृतिक छ । यो यात्रालाई भव्य र वैभव बनाउन सबै तयारी पुरा भएको छ । शोभायात्रालाई भव्य स्वागत गर्नेछौँ ।" मन्दिर क्षेत्रमा रंगरोगनसँगै नेपालबाट जाने टोलीको स्वागतका तथा आवास, भोजन लगायतको तयारी भइरहेको जानकारी दिनुभएको थियो । 

चैत २३ गते साँझ शुक्रबार दाङ घोराहीको सिद्धरत्ननाथ मठ चौघेराबाट रथ यात्रासहित महायात्रा सुरु हुनेछ । चौघेराबाट सुरु भएको यात्रा घोराही उपमहानगरपालिका अन्तर्गत पर्ने चौपट्टामा केही समय पूजा आराधना र विश्रामपछि लमही नगरपालिका–६ देउपुर गोरक्ष धाममा पाँच दिनको बसाइ गर्नेछ । 

त्यसैगरी चैत २८ गते देउपुरबाट कोइलाबासका लागि यात्रा निस्कनेछ । साबिकको पुराना विश्रामस्थल जमुनीवासमा एकछिनको विश्रामपछि साँझ कोइलाबासमा एक रात विश्राम हुनेछ । चैत्र २९ बिहान ४ बजे कोइलाबासबाट भारतको जनकपुरका लागि यात्रा निस्कनेछ । २९ र ३० गते जनकपुरमा विश्राम हुनेछ । 

वैशाख १ गते जनकपुरबाट देवीपाटनका लागि गोरक्ष पात्रदेवताको रथ यात्रासहितको महायात्रा मा पाटेश्वरी मन्दिर प्रस्थान हुनेछ । नयाँ वर्ष २०८१ वैशाख १ गते बिहान ९ बजेसम्म देवीपाटन पुगिने कार्यतालिका रहेको महायात्रा मूल आयोजक समितिका अध्यक्ष योगीले जानकारी दिनुभएको छ । उहाँका अनुसार वैशाख ६ गतेसम्म देवीपाटनको बसाइपछि ६ गतेको रात्रिकालीन समयमा देवीपाटनबाट पुन रत्ननाथ मन्दिर चौघेराका लागि फिर्ती हुने कार्यक्रम छ । 

महायात्रामा करिब ४ सय बढीको सहभागिता हुने तयारी गरिएको बताउनुभयो । महायात्राको अन्तिम तयारीका बारेमा दुवै मन्दिरका टोलीले भारतको तुलसीपुरमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर महायात्राका बारेमा जानकारी गराउनुभएको थियो ।