• १२ साउन २०८१, शनिबार

कराँतेदेखि हक्कीसम्म सुवर्ण यात्रा

blog

काठमाडौं, चैत २० गते । ललितपुर लुभुकी सुवर्ण श्रेष्ठलाई सँगैका साथीहरू चर्चित खेलाडी बनेको देख्दा कहिले काहीँ विगतले झस्काउँछ । सुवर्णले कराँते खेल्न सुरु गर्दा लुभु अहिले जस्तो सुगम थिएन । खेल्नका लागि नजिक भनेको लगनखेल पुग्नुपर्दथ्यो । 

छोरीहरूलाई घरबाट टाढा जान त्यतिबेला सजिलो थिएन । तर पनि घरबाट लगनखेलसम्म आएर सुवर्णले कराँते खेल्नुभयो । कराँतेकी राम्रो खेलाडी उहाँलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अगाडि बढ्न समय र परिस्थितिले साथ दिएन । सजिलैसँग छोरीहरूलाई घर परिवारले खेलमै लाग भन्ने अवस्था पनि थिएन ।

‘‘हत्तपत्त घरबार बाहिर जान हुन्न भन्ने समयमा खेल्ने इच्छा तीव्र भए पनि खेललाई निरन्तरता दिन सकिन । अहिले सँगैका साथीहरूले पदक जितेर चर्चित खेलाडी बनेको देख्दा ओहो भन्ने लाग्छ,’’ ४४ वर्षीया सुवर्णले भन्नुभयो । 

विस्तारै पढाइसँगै व्यावसायमा लाग्नुभएकी सुवर्णलाई खेलकुदको हुटहुटीले भने छाड्न सकेन । लामो समय नेपाल रिङ रेस्लिङ सङ्घमा आबद्ध भएर नेपालमा रेस्लिङ खेललाई स्थापित गर्न सफल सुवर्ण पछिल्लो समय नेपाल हक्की सङ्घको महासचिवको रूपमा आबद्ध हुनुहुन्छ । 


‘‘खेलकुद एक प्रकारको नशा रहेछ । खेलाडीको रूपमा अगाडि बढ्न नसके पनि खेलको माध्यमबाट केही योगदान दिन खेल सङ्घमा आबद्ध भएको हुँ । अहिले नेपालको पुरानो खेल हक्कीमा केही गर्न सकिन्छ कि भनेर लागि परेका छौँ । पुरानो खेल भए पनि हक्कीको अवस्था बलियो छैन । भर्खर सङ्घमा आएकाले सक्ने खालको वार्षिक कार्यक्रम बनाएर लागेका छौँ । खेलाडी उत्पादन, ग्रासरुट कार्यक्रममार्फत युवा खेलाडीको खोजी, खेलाडीको क्षमता विकास, प्रशिक्षण र तालिमको व्यवस्था मिलाउने, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना तथा सहभागिता जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ,’’ सुवर्ण भन्नुहुन्छ । 

नेपालमा २०११ सालमा स्थापना भएको हक्की खेलका लागि छुट्टै मैदान नभएकाले सङ्घ अहिले काभ्रेको धुलिखेलमा हक्कीको सुविधासम्पन्न स्टेडियम बनाउन लागिपरेको पनि जानकारी दिनुभयो । ‘‘पूर्व खेलाडी र खेल पदाधिकारीको दृष्टिले नेपाली खेलकुदमा धेरै समस्या र चुनौती छ । चुनौतीसँगै यसमा हामीले अवसर पनि पनि देखेका छौँ । नेपाल सरकार र सरोकारवाला निकायले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न आवश्यक छ,’’ सुवर्णले भन्नुभयो । 


खेलकुदमा गरिएको लगानीले खेल क्षेत्रको विकाससँगै पर्यटन र अर्थतन्त्रमा समेत विकास पुग्ने सुवर्णको भनाइ छ । नेपालमा हक्की खेलको विकास र विस्तारमा देखाएको लगावका कारण हालै अन्तर्राष्ट्रिय हक्की महासङ्घले सुवर्णलाई नेपाली हक्कीको भविष्य भनेर चित्रण गरेको छ । 

खेलाडी हुँदै खेल सङ्घ र पदाधिकारीको रूपमा सक्रिय सुवर्णसँग नेपालको समग्र खेलकुद, हक्की खेल र खेलाडीको अवस्थाबारे गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो सामग्री :