काठमाडौँ, मङ्सिर १८ गते । साहब आलम एक्लैले ह्याट्रिकसहित ६ विकेट लिएपछि काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहीबार भएको खेलमा काठमाण्डुले पोखरा एभेन्जर्सलाई १३ रनले हरायो ।
लिगको सबै सात खेल सकेको काठमाण्डु १० अङ्कसहित दोस्रो स्थानमा छ । काठमाण्डु प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि सुदूरपश्चिम दुई खेल अगावै प्लेअफमा पुगिसकेको छ ।
काठमाण्डुसँगको हारसँगै पोखराको प्लेअफ सम्भवना कमजोर बनेको छ । पोखराको ६ खेलबाट चार अङ्क छ । जितका लागि एक सय ६६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ५२ रनमा समेटिएको थियो ।
पोखराका लागि रिशि धवनले अर्धशतकीय इनिङ खेल्नुभयो । उहाँले ३१ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ५४ रन बनाउनुभयो । यस्तै धनञ्जय लक्ष्मणले ३०, कप्तान कुशल भुर्तेलले २२ र जासन रोयले १६ रन बनाउनुभयो ।
बलिङमा काठमाण्डुका साहब आलम एक्लैले ह्याट्रिकसहित ६ विकेट लिनुभयो । उहाँले चार ओभरमा २५ रन खर्चिएर विकेट लिनुभएको हो । यस्तै सन्नी पटेल र कप्तान करण केसीले दुई दुई विकेट लिनुभयो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डु गोर्खाजले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६५ रन बनाएको थियो ।
काठमाण्डुका लागि ओपनर बेन चार्ल्सवर्थले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्नु भयो । उहाँले ५५ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा उक्त रन नबाउनु भएको हो ।
यस्तै भीम सार्कीले पनि ५५ रनको अर्धशतकीय इनिङ्स खेल्नु भयो । उहाँले २३ बलमा पाँच चौका र चार छक्का हान्नु भयो । भिम प्लेयर अफ दि म्याच हुनुभयो । मिलिन्ड कुमारले १३ रन जोड्नु भयो ।
बलिङमा पोखराका धनञ्जय लक्ष्मणले चार विकेट लिनु भयो । कुशल भुर्तेलले दुई तथा किरण ठगुन्ना र विपिन कार्कीले एक एक विकेट लिनु भयो । आजै अपराह्न ४ बजे हुने अर्को खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुने छ ।