• १३ साउन २०८१, आइतबार

वडा अध्यक्षको विवादले २० दिनदेखि कामकाज ठप्प

blog

तामाकोसी गाउँपालिका-३ को कार्यालय । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, चैत १७ गते । दोलखाको तामाकोसी गाउँपालिका-३ जफेको कामकाज ठप्प भएको छ । वडाका वडा अध्यक्ष राम प्रसाद काफ्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन २७ गते विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै निलम्बनमा पर्नु भएको हो । 

अध्यक्ष काफ्ले निलम्बन परेको २० दिन पुगेको छ । तर लामो समयसम्म कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी तोक्न नसक्दा कार्यालयमा वडा अध्यक्षले गर्ने सम्पूर्ण काम ठप्प भएको छ । अध्यक्ष निलम्बन भएपछि कार्यवाहक वडा अध्यक्षको जिम्मेवारीको विषयलाई लिएर वडा सदस्यबिच सहमति हुन सकेको छैन ।

वडा कार्यालयले पटक पटक छलफल गर्दासमेत निर्णय हुन नसकेपछि वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा तालबन्दी गरिएको थियो । वडा र गाउँपालिका कार्यालयको दुई हप्ता तालाबन्दीपछि गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसीको उपस्थितिमा बुधबार चार जना वडा सदस्यलाई आलोपालो कार्यवाहक दिने सहमति गरिएको छ ।

सहमति अनुसार वडा सदस्यहरू प्रचण्डदिप कार्कीलाई चैत १४ देखि असार ३१ गतेसम्म, लिलामाण मोक्तानलाई साउन १ देखि असोज ३० गतेसम्म, देवी पोखरेललाई कार्तिक १ गतेदेखि पुस २९ गतेसम्म र विमला मिजारलाई माघ १ देखि चैत १ गतेसम्म कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी तोकिएको थियो । तर सदस्यहरूबिच अहिले पनि सहमति जुट्न नसक्दा कामकाज हुन नसकेको तामाकोसी गाउँपालिकाले जनाएको छ ।

वडा कार्यालयले शुक्रबार वडा सदस्यहरूलाई बैठकको लागि निमन्त्रणा गरिएतापनि वडा सदस्य लिलामाण मोक्तान र देवी पोखरेल बैठकमा उपस्थित नभएको वडा सदस्य प्रचण्डदिप कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पटक पटक वडाको बैठक बोलाएका छौँ, उहाँहरूलाई निमन्त्रणासमेत गरेका छौँ, उहाँहरू बैठकमा उपस्थित हुनुहुन्न मोबाइल पनि बन्द छ ।” 

सो गाउँपालिकाका अध्यक्ष केसी र वडा सदस्य मोक्तान एउटै राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधि भएकाले गाउँपालिका अध्यक्ष नै समस्याको समाधान गर्नुपर्ने स्थानीयको भनाइ छ । लामो समयदेखि सो वडामा वडा अध्यक्षको सिफारिसमा हुने सम्पूर्ण काम ठप्प छ । खानेपानी योजना निर्माण समितिका अध्यक्ष यम बहादुर सार्कीले योजना सम्पन्न गरेको लामो समय भुक्तानी नहुँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “काम सम्पन्न भएको छ, सम्पूर्ण कागजपत्र लिएर वडामा आएको वडाको कामकाज ठप्प हुँदा भुक्तानी लिन सकिएन ।”