• ३ जेठ २०८२, शनिबार

प्रधानमन्त्रीसँग विश्व बैँकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुहुँदै विश्व बैँकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसर । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, जेठ २ गते। प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसरले आज शिष्टाचार भेट गर्नुभएको छ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा हुँदै आएको सहकार्य, काठमाडौँमा जारी सगरमाथा संवादको सार्थकतालगायत विषयमा छलफल भएको छ।

प्रधानमन्त्री ओलीले नेपालको आर्थिक वृद्धि, गरिबी निवारण र नेपालीको जीवनस्तर उकास्न बैँकले गर्दै आएको महत्त्वपूर्ण सहयोगको प्रशंसा गर्दै उचित राजस्व परिचालन र विकासका खर्चका लागि प्रभावकारी व्यवस्थापन सरकारको प्राथमिकता रहेको सुनाउनुभयो। 

उहाँले उत्पादन र उत्पादकत्व वृद्धिका लागि थालेका काम सक्ने नीति अनुरूप आगामी बजेटबाट समयमा परियोजना सम्पन्न गर्नेगरी प्रबन्ध गरिने अवगत गराउनुभयो। 

उपाध्यक्ष रायसरले बैँकको सहकार्यको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्दै वातावरणीय मुद्दामा प्राथमिकता दिएर नेपालले सगरमाथा संवादको आयोजना गरेकामा सफलताको कामना गर्नुभयो।

बैँकले नेपालमा यातायात, ऊर्जा, शिक्षा र स्वास्थ्यलगायत १९ क्षेत्रमा गरी दुुई मिलियन अमेरिकी डलरको लगानी गरेको छ। भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाल रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, बैँकका देशीय निर्देशक डेभिड एन सिस्लेनलगायत सहभागी हुनुहुन्थ्यो। रासस